बैंकहरूले घटाए ब्याजदर, अब कसको कति ?


२९ पुष २०८०, आईतवार
bank all

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र निक्षेपको वृद्धि भन्दा कर्जाको वृद्धि लगातार न्यून भएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् ।

गएको असार मसान्तसम्म निक्षेपको ब्याजदरमा भद्र सहमति कायम गरेका बैंकहरुले साउनदेखि उक्त सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएका छन् । बैंकहरुले अधिक तरलता भएर ३ प्रतिशत ब्याजदरमा नेपाल राष्ट्र बैंकमा निक्षेप राख्नुपर्ने तर कर्जाको माग तत्काल बढ्ने अवस्था नभएपछि निक्षेपको ब्याजदर घटाएर कोषको लागत घटाउने रणनीति लिएका छन् ।

कोषको लागत घट्दा आधार दर घटेर कर्जाको ब्याजदर घट्दा ऋणीलाई राहत हुन्छ । त्यस्तै बैंकहरुले लगानी गर्न नसकेको तरलताको समेत लागत घट्न जान्छ । कर्जाको माग तत्काल नबढ्ने अवस्था र धेरै बैंकहरुको पूँजीकोषमा देखिएको दबाबले एग्रेसिभ कर्जा विस्तार गर्ने अवस्था नहुँदा ब्याजदर घटाएको एक बैंकरले बताए । सञ्चालनमा रहेका २० मध्ये १८ वटा वाणिज्य बैंकले माघका लागि व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका छन् ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा हुन नहुने व्यवस्था गरेको छ । यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । बैंकहरुलाई व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।
यस्तै ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उक्त निर्देशनले तोकेको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतम मध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही सीमाभित्र रहेर वाणिज्य बैंकहरुले माघको ब्याजदर प्रकशित गरेका हुन । माघमा एनएमबि बैक र एभरेष्ट बैंकले पुसको ब्याजदर यथावत राखेका छन् । बैंकहरुले निक्षेपको अवधि अनुसार ब्याजदरलाई विविधिकरण गर्दै प्रकाशित गरेका छन् । माघमा सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले दिने भएको छ । बैंकले २ देखि १५ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ७.२६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यस्तै एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत यथावत राख्दै अन्य व्याजदर प्रकाशित गरेको हो । ५ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याजदर पाइने बैंकले जनाएको छ । एनएमबि बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पुसकै ९ प्रतिशतलाई माघमा पनि निरन्तरता दिएको छ । ३ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा मात्रै उक्त ब्याजदर पाइने बैंकले जनाएको छ ।

bank intrest

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७