बालिका बलात्कार प्रकरण : पक्राउ परेका नगर प्रहरीसहितलाई थुनामा राखी अनुसन्धान गर्न अनुमति


३ माघ २०८०, बुधबार
Rape 2

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये तीन जनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दुई जनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिने जानकारी दिए । उनका अनुसार घटनामा संलग्न रहेका चार जना आरोपी फरार रहेका छन् ।

स्थानीय १४ वर्षीया बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन् ।

अन्य तीन जना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन । ती बालिकामाथि गत असोजमा बलात्कार भएको र बालिकाको गर्भमा भ्रुण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बुढाथोकीका अनुसार सुरुमा बालिका आफ्नो पेटमा रहेको बच्चा फाल्न जिल्ला अस्पताल गएकी थिइन् । ‘चिकित्सकले सोधखोज गर्दा उनले एक युवकको नाम लिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । सोही युवकले अन्य छ जना समेतले बलात्कार गरेको बताएपछि प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७