राउटे समुदायकी १२ वर्षीया बालिका दुर्गाको मृत्यु, जेठयता नौं जनाले गुमाए ज्यान


५ माघ २०८०, शुक्रबार
Raute balika death

दैलेख । दैलेखको भैरवी गाउँपालिका–४ को गड जिउलामा बस्दै आएकी राउटे समुदायकी बालिकाको उपचार नपाउँदा ज्यान गएको छ । हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाहीको बिहीबार राति मृत्यु भएको हो । विगत एक महिनादेखि बिरामी रहेकी उनको उपचार हुन सकेको थिएन ।

उनी विरामी परेको थाहा पाएपछि उपचार र खानपिनमा ध्यान दिन आग्रह गरिए पनि बिहीवार राति मृत्यु भएको राउटेसँग काम गरिरहेका लालबहादुर खत्रीले जानकारी दिए । हरिबहादुर शाहीका दुई छोरा र एक छोरी छन् । छोरीको मृत्युपछि हरिबहादुर चिन्तामा छन् ।

Raute Dailekh 2

औषधि खाँदा विरामी सञ्चो हुँदै गएको भए पनि माघे संक्रान्तिमा खानपिनका कारण समस्या भएको र शुक्रवार बिहान बस्तीमा जाँदा बालिकाको मृत्यु भएको थाहा पाएको खत्रीले जानकारी दिए । चिसो बढेसँगै राउटे समुदायका व्यक्तिमा स्वास्थ्य समस्या बढ्दै गएको छ । चिसो भुईंमा रात कटाउनु पर्ने अवस्था हुँदा बालबालिका र वृद्धवृद्धा थप जोखिममा छन् ।

पछिल्ला वर्षहरूमा राउटे समुदायको जनसंख्या घट्दै आएको छ । अहिले राउटेको संख्या १३७ रहेको छ । तीमध्ये ६५ जना बालबालिका छन् । गत २३ जेठयता यस समुदायमा विभिन्न उमेर समूहका नौं जनाको मृत्यु भएको छ । जेठ २३ गते राउटे समुदायका ज्येष्ठ सदस्य ९१ वर्षीय कणर्बहादुर शाहीको मृत्यु भएको थियो ।

त्यसयता ६६ वर्षीय महामुखिया महिनबहादुर शाही, तुल्सी शाही, शान्ति शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँच महिने बालिका बालकुमारी शाही र एक महिने बालक भैरव शाहीको मुत्यु भएको छ । गड जिउलामा बस्दै आएका राउटे समुदाय शुक्रवार नै चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाइँ सरेका छन् । मान्छेको मृत्युु भएपछि बसाइँ सर्ने परम्परा यो समुदायमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७