काठमाडौंको न्यूरोड क्षेत्रका सडकमा आजदेखि पार्किङ निषेध


९ माघ २०८०, मंगलवार
parking bike newroad

काठमाडौं । काठमाडौंको नयाँ सडक (न्यूरोड) क्षेत्रमा आज (मंगलबार) देखि खुला सडकमा सवारी पार्किङ गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले आजदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङलाई निषेध गरेको हो ।

यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध हुने महानगरपालिकाले जनाएको छ । काठमाडौं टावरमा ३०० वटा चारपाङ्ग्रे सवारी साधन र ७०० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । काठमाडौं महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि पार्किङ भइरहेको ठाउँलाई खाली गरेर सरसफाइ गरिने बताए ।

पिच सडकमा भइरहेको सवारी पार्किङ हटाउँदा सवारी आवागमनमा सहज हुने उनको भनाइ छ । पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिनेछ । यसअघि झोंछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७