राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान जारी, आजै मत परिणाम


११ माघ २०८०, बिहीबार
chunab rastriyasabha 3
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदानका लागि लाइनमा बस्दै कर्णाली प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु। तस्बिर: सुरेश आचार्य / रासस

काठमाडौँ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

गण्डकी प्रदेश

गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान सुरु भएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘दिउँसो ३ बजेसम्म मतदानको अवधि रहेको छ’, कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने, ‘गण्डकीमा दुई सय ३० जना मतदाता रहनुभएको छ ।”

chunab rastriyasabha 2 1

अन्य, महिला र अपाङ्गता /अल्पसंख्यकतर्फ गरी तीन सिटका लागि मतदान भइरहेको हो । चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सूचना अधिकारी न्यौपानले जानकारी दिए । सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता / अल्पसंख्यक कलस्टरमा क्रमशः गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ ।

महिलामा नेकपा (माओवादी केन्द्र)बाट पर्वतकी मनरुपा शर्मा चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले)ले अन्य कलस्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा र अपाङ्गतारअल्पसंख्यक कलस्टरमा हेमन्द्र शेरचनलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठलाई उम्मेदवार छन् । राप्रपाले अपाङ्गता / अल्पसङ्ख्यकतर्फ भने उम्मेदवार उठाएको छैन । अन्य, महिला र अपाङ्गता /अल्पसंख्यकतर्फ यसअघि निर्वाचित तीन सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिन लागेकाले ती सिटमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा प्रदेशसभाका ६० र स्थानीय तहका एक सय ७० गरी कूल दुई सय ३० मतदाता रहेका छन् । चुनावमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार रहेको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार रहेको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता छन् । जसको कूल मतभार दुई हजार सात सय चार रहेको छ । बाइस प्रदेशसभा सदस्य र ६८ स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको एमालेको मतभार दुई हजार चार सय ५८ रहेको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार रहेको छ । दुई जना प्रदेशसभा सदस्य मात्र रहेको राप्रपाको एक सय छ, तीन स्थानीय तहको प्रमुख र उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको ५७, एक प्रदेशसभा सदस्य र एक स्थानीय प्रमुख रहेको नेकपा (एकीकृत समाजवादी) को ७२ र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मनाङको ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङको १९ मतभार छ ।

बागमती प्रदेश

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी रहेको छ । स्थानीय भुटनदेवी माविको भवनको (क) मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरेका थिए । उक्त भवनमा मतदान केन्द्र (क) मा प्रदेशसभाको लागि र (ख) मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।

उक्त मतदान कार्यको लागि प्रदेशसभाको एक सय १० जना र स्थानीय तहका दुई सय ३७ जना गरी कूल तीन सय ४७ जनाले मतदानमा सहभागी हुने उनले जानकारी दिए । आजै अपराह्न ३ बजेको समयभित्र मतदान कार्य सम्पन्न भएलगत्तै दलका उम्मेदवारको सहमतिअनुसार अपराह्नबाट मतगणना कार्यको लागि आवश्यक तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए ।

सो निर्वाचनको लागि सत्ता गठबन्धन, नेकपा (एमाले), राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । दुवै मतदान केन्द्रमा सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले सुरक्षा प्रदान गरिरहेको र मतदाता प्रवेश गर्ने पश्चिम ढोका र मतदान कार्य सम्पन्न गरिसकेपछि उत्तरतर्फको मूल ढोकाबाट आवतजावत गर्ने सुविधा मिलाइएको मकवानपुरका प्रजिअ सुर्यप्रसाद सेढाईंले जानकारी दिए ।
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी रहेको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरि मतदानको सुरुआत भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदानका लागि दुई मतदान केन्द्र तोकिएको छ ।

chunab rastriyasabha 3
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदानका लागि लाइनमा बस्दै कर्णाली प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु। तस्बिर: सुरेश आचार्य / रासस

निर्वाचन अधिकृत पाण्डेका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने व्यबस्था गरिएको छ भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षगरि २ सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसले महिलामा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।

chunab rastriyasabha 1
दाङको घोराही उपमहानगरपालिका-१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डे। तस्बिर : कुलदीप न्यौपाने / रासस

यस्तै नेकपा (एमाले) ले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीको तर्फबाट अन्यमा नवलपरासीका बालगोविन्द चौधरीको उम्मेदवारी दर्ता भएको छ । राप्रपाको तर्फबाट महिलामा कपिलवस्तुकी विजयालक्ष्मी सिंहलाई उम्मेदवारी दर्ता भएको छ । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कूल मतदाता संख्या तीन सय पाँच जना रहेको छ । यसमध्ये प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या दुई सय १८ रहेको छ ।

कोशी प्रदेश

कोशी प्रदेशमा राष्ट्रियसभाका दुई सदस्य निर्वाचनको मतदान जारी रहेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० मा प्रदेशसभा सदस्य एवं पालिकाका प्रमुख एवं उपप्रमुखले मतदान भाग लिइरहेका छन् । विराटनगरका मौसम चिसो भए पनि प्रदेशसभा सदस्य एवं प्रमुख एवं उपप्रमुखलाई लामबद्ध भएर मतदान गरिरहेका छन् ।

मतदान कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए । प्रदेशमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । महिला पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की चम्पा कार्की र नेकपा (एमाले) बाट रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी परेको छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएकोछ । निर्वाचनमा प्रदेश सभाका ९३ र स्थानीय तहका प्रमुख–उपप्रमुख दुई सय ७४ गरी तीन सय ६७ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतदभार १९ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७