पूर्व न्यायाधीशहरुसँग प्रधानमन्त्रीले भने–संविधानको पालना सबैको दायित्व


११ माघ २०८०, बिहीबार
pm 7

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व न्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । पूर्व न्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्व न्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजिक सद्भाव र एकतालाई खलबल्याउन र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागि परेको जनाउँदै संविधान र कानुनको पालना गर्न लगाउन पूर्व न्यायाधीशहरुको भूमिका समेत महत्वपूर्ण रहने बताए ।

प्रधानमन्त्रीले पूर्व न्यायाधीशहरुले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको जनाउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अङ्ग र निकायले गर्ने काममा संविधान र कानुनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनु पर्ने औंल्याए । उनले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भीड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानुनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीसँगको छलफलमा पूर्व न्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानुनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७