नेपाल–चीन सम्बन्धमा खेल्नेहरु धेरै छन् : सीपीसी उपमन्त्री हाइयान


१४ माघ २०८०, आईतवार
cpc

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनबीचको सम्बन्धमा अरु मुलुकले खेल्न खोजेको टिप्पणी गरेकी छन् ।

नेपालको तीन दिने भ्रमणमा काठमाडौँमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै अन्य केही मुलुकले यस्तो देख्न नचाहेको बताइन् । उनले दुवै देशका राष्ट्राध्यक्षले सम्बन्धलाई सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमति र समझदारी पत्रमा भएको हस्ताक्षरले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बनाएको बताइन् ।

‘मैले यस पटक सीपीसीको नेतृत्व गर्दै धेरै भेटघाट गरें । हाम्रो राजदूतले पनि धेरै मेहनत साथ काम गरिराख्नु भएको छ । नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई कसरी राम्रो बनाउने र सहकार्य गर्न भन्नेमा हामीले काम गर्न जरुरी छ’, उनले भनिन् ।
‘नेपालमा चिनियाँ पर्यटक धेरै आउनु भएको छ । यो नेपाललाई पनि महसुस भएको हुनुपर्छ,’ उनले भनिन्, ‘तर एउटै क्षेत्रमा मात्रै भर पर्नु हुँदैन । म नेपाल आउनुअघि चिनियाँ उद्यमीसँग छलफल गर्दा नेपालमा लगानी गर्नुपर्ने कुरा राखेको थिएँ । तर त्यसका लागि यहाँ नीतिगत सुधारको जरुरी छ ।’

उनले छिमेकी मुलुकका विकास पूर्वाधारमा चीनले लगानी गरेको र त्यसको एउटा उदाहरण इन्डोनेसिया भएको बताइन् । साथै, कोभिड मात्रै नभइ विभिन्न कारणले नेपालमा चिनियाँ लगानीमा सम्पन्न भइरहेका योजना सम्पन्न गर्न ढिलाइ भैरहेको बताइन् ।
उनले दुई देशका राजनीतिक दलबीच सम्बन्ध सुधार हुनुपर्ने र कतिपय मुलुक नेपाल र चीनबीच राम्रो सम्बन्ध भएको देख्न नचाहिरहेको उनको भनाइ थियो । ‘उनीहरू आउँछन् र जान्छन् । त्यसले असर गर्ने भनेको नेपाल र चीनका जनतालाई नै हो,’ उनले भनिन्, ‘त्यसैले यसको लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न जरुरी छ । कठिनाइको सामना गर्न मिलेर काम गर्नुपर्छ। सहकार्यलाई अझ व्यवहारिक बनाउनु पर्छ ।’

गएको वर्षदेखि चीनको आर्थिक सुधार भएको भन्दै त्यसलाई नेपालले सदुपयोग गर्न सक्ने प्रचुर सम्भावना रहेको उनको भनाइ थियो । विशेष गरी चिनियाँ शैलीको विकास निर्माण गर्ने र बीआरआईलाई कार्यन्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै, नेपालका लागि चिनियाँ राजदूत छन सङले आफू पहिलो पटक नेपाल आउँदा चिनियाँ नागरिक खै? भनेर सोध्ने गरेको, तर अहिले नेपालमा चिनियाँ आउन थालेका बताए । ‘खुशीको कुरा हो । राष्ट्रपति सीले भनेजस्तै महामारीले सम्बन्धमा कुनै असर गर्दैन,’ उनले भने, ‘हामी दुई देशको सम्बन्ध सुधार गर्न लागेका छौँ । प्रधानमन्त्री प्रचण्डको भ्रमणमा नयाँ सहमति भए, त्यसले सम्बन्ध नयाँ उचाइमा पुर्‍याएको छ ।’ उनले नेपालबाट १५० जनालाई छात्रवृत्ति दिने कार्यक्रम बनाएको जानकारी दिँदै नेपाली युवालाई चीन गएर अध्ययन गर्न अनुरोध समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७