राष्ट्रपतिप्रति ओलीको आक्रोश : तपाई गठबन्धनको प्रतिनिधि होइन, थान्कामा बस्नुस्

‘पूर्वमन्त्रीलाई हत्कडी, व्यापारीलाई अस्पताल लैजाने कस्तो थिति हो ?’


२० माघ २०८०, शनिबार
kp oli
तस्वीर : प्रदीपराज वन्त / रासस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको कडा आलोचना गरेका छन् । आज (शनिबार) एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संसद्का महासचिव नियुक्ति अड्काएको भन्दै राष्ट्रपति पौडेलप्रति आक्रोश व्यक्त गरेका हुन् । यस क्रममा उनले राष्ट्रपति पौडेल सबैको साझा नभएर कांग्रेसको प्रतिनिधि बनेको आरोप पनि लगाए ।

‘सभामुख र राष्ट्रिय सभा अध्यक्षले संयुक्त रूपमा गर्नुभएको सिफारिसलाई किन रोकेको’, उनले भने, ‘राष्ट्रपति कांग्रेस भइदिनु भएन, उहाँ कांग्रेस भइरहनु भएको छ, उहाँ कांग्रेसको भइसक्नु भयो । तपाईं कांग्रेसको प्रतिनिधि हैन, आफ्नो थान्कामा बस्नूस् । आफूले पाएको अधिकार प्रयोग गर्नूस्, तपाईं गठबन्धनको प्रतिनिधि हैन ।’ अध्यक्ष केपी शर्मा ओलीले पक्राउ परेका व्यापारी अरुण चौधरीलाई प्रहरी कार्यालयको हिरासतमा नराखी अस्पतालमा राखेको भन्दै आपत्ती जनाएका छन् ।

ध्यक्ष ओलीले पूर्वमन्त्री, पूर्वप्रधानमन्त्रीलाई हत्कडी लगाएर जेलमा राख्ने तर व्यापारीलाई प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘हिरासतमा को बस्नु पर्ने हो, को बस्न नपर्ने हो ? व्यापारी नै समातिँदा हिरासतमा मात्रै होइन जेलमै हाल्यो त, पूर्वमन्त्री, प्रधानमन्त्री भइसकेका मान्छेलाई हत्कडी लगाएर र जेलमा राखेर मुद्दा लगाइयो । तर एकजना व्यापारी पक्राउ पर्दा प्रहरी कार्यालयको बाटो हुदैँ अस्पताल लगियो रे । कस्तो थिति हो यो ?’

उनले लुम्बिनीको रामग्राम स्तूप निजी कम्पनीलाई दिन लागिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकास नभई रामग्राम परियोजना बनाएर भ्रष्ट्राचारको तानाबाना बुनेको उनले बताए । उनले भने, ‘बैंकको सम्पत्ति राख्ने स्थानमा बुलेट राखियो तर पेस्तोलको खोजी भएन । त्यस्ता मान्छेलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाइयो । त्यस्तो विवादस्पद व्यक्तिलाई किन बनाइयो रु के कारण होला भनेर खोजी गर्दा लुम्बिनीको विकास होइन्, राम ग्रामतिरबाट विकास सोझ्याउने धन्दा पो रहेछ ।’

सम्पदाको विकासका क्रममा सरकारले भ्रष्टाचारको तानाबाना बुनिएको उनको भनाइ थियो । अध्यक्ष ओलीले सत्ताको दुरुपयोग गरेर रेडक्रस, स्काउड जस्ता संस्थाको सम्मेलन हुनमा रोक लगाएको उल्लेख गरे । अध्यक्ष ओलीले सत्ता गठबन्धनभित्रका दलहरु मुलुकको विकासका लागि केही गर्छु भन्ने नभइ भ्रष्टाचार, तस्करी, अयोग्यताको पर्यावाची भएको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७