कर्मचारी सवार बोलेरो दुर्घटना : ११ घाइतेमध्ये एकको मृत्यु, चारको अवस्था गम्भिर


२३ माघ २०८०, मंगलवार
car

सर्लाही । सर्लाही सदरमुकाम मलंगवा नजिकै नापी कार्यालय सर्लाहीका कर्मचारी सवार भारतीय बोलेरो गाडी सोमबार साँझ ट्रयाक्टरसँग ठोक्किँदा घाइतेमध्ये एक जनाको ज्यान गएको छ । दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका सर्लाहीको बागमती नगरपालिका– ५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गए राति ज्यान गएको हो । उनको वीरगञ्ज नजिक रहेको एनएस न्युरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ । घिमिरे नापी कार्यालयका कर्मचारी हुन् कि होइनन्, प्रहरीले खुलाएको छैन । तर, बोलेरोमा सवार अधिकांश कर्मचारी भएका अनुमान प्रहरीको छ ।

accident
सर्लाहीको मलङ्गवा–११, चमेली माई मन्दिर नजिकै जीप दुर्घटना हुँदा चार गम्भीर घाइते । तस्वीर : विश्वनाथ ठाकुर / रासस

सोमबार साँझ बीआर ०६ पिडी ९६४८ नम्बरको जीप (बोलेरो) मलंगवा–नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज.१ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो । बोलेरो मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा उखु बोकेको ट्याक्टरको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ । ट्याक्टर उखु लिएर सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगतर्फ जाँदै थियो ।

दुर्घटनामा जीप चालक मलंगवा– ३ का रामलाल साह पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेन्द्र पञ्जियार थारुले जानकारी दिएका छन् । दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गम्भीर घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिएको थियो । एक जना घाइतेको भने मलंगवामै उपचार भइरहेको प्रहरीले जनाएको छ । मलंगवाबाट उपचारको लागि बाहिर पठाइएका धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अहिले एनएस अस्पताल बारामा पाँच जना, वीरगञ्जस्थित बयोधा अस्पतालमा २ जना र तिरुपति अस्पतालमा एक जनाको उपचार भइरहेको छ । एक जना घाइतेको भने कहाँ उपचार भइरहेको छ प्रहरीले आफूलाई जानकारी नभएको बताएको छ । दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई पक्राउ परेको छ । घटनाका सम्बन्धमा अप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७