कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच बिग होटल वार्ता जारी


२५ माघ २०८०, बिहीबार
koshi pahichanbadi barta

मोरङ । पहिचानसहित कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समिति र प्रदेश सरकारबीच वार्ता शुरू भएको छ । विराटनगरस्थित बिग होटलमा आज (बिहीबार) सरकार र पहिचान पक्षधरबीच वार्ता शुरू भएको हो ।

प्रदेश सरकारले बनाएको वार्ता समिति र पहिचान पक्षधरबीच वार्ता शुरु भएको हो । कोशी प्रदेश सरकारले वार्तामा आउन आह्वान गर्दै औपचारिक पत्र पठाएको लामो समयपछि संयुक्त संघर्ष समितिले वार्ता गर्ने निर्णय गरेको थियो । माघ ६ मा बसेको मन्त्रिपरिषद बैठकले पहिचान पक्षधरसँग वार्ता गर्ने निर्णय गरेको थियो । त्यसपछि आन्दोलतरत समिति वार्ता गर्न तयार भएको हो । कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिवको रूपमा छन् । यस्तै वार्तामा प्रदेश नं १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको तर्फबाट डकेन्द्रसिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी सहभागी छन् ।

फागुन १७ गते तत्कालीन प्रदेश–१ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा छन् । तत्कालीन सरकारले तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । सो वार्ता टोलीसँग २०८० असार ४ गते पहिचान पक्षधरले पहिलो पटक वार्ता गरेको थियो । सरकार अस्थिर भएका कारण त्यसपछि वार्ता भएको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७