सन्दीपको दावी : गलत नियत थियो भने नगरकोटमै रुम बुक गर्थें होला


११ फाल्गुन २०८०, शुक्रबार
IMG 20240222 180656 scaled 1

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्व उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । उनले हिजो बिहीबार पुनरावेदन निवेदन दिएका हुन् ।

सन्दीपले आफूले पीडित भनिएकी गौशाला २६ लाई बलात्कार नगरेको दोहोर्‍याएका छन् । एकै कोठामा बस्दा बलात्कार नहुने पनि पुनरावेदनमा उल्लेख गरिएको छ । सन्दीपले गौशाला २६ को आग्रह अनुसार नै होटलको बुक गरिएको दाबी गरेका छन् । गौशाला–२६ ले बकपत्र पत्रका क्रममा ‘बोजिनी रिसोर्ट नगरकोट बस्दा पटक–पटक होटलको स्टाफ आई मेरो प्रतिवादीसँग भीआइपी रुम छ सर, बुक गर्दिउँ भनेर समेत भनेका थिए भन्ने व्यहोरा उल्लेख गरिएको छ । यसैमा सन्दीपले पुनरावेदनमा भनेका छन्, ‘यदि प्रतिवादीको रात बस्ने योजना र नियत भएको भए पटक–पटक होटलको स्टाफ आई भीआइपी रुम छ सर, बुक गर्दिउँ भनेर सोधेको प्रश्न उत्तरमा नगरकोटमा नै रुम बुक गर्थें होला ।’

आफ्नो योजना र नियतले नभइ गौशाला–२६ कै योजना तथा आग्रहमा काठमाडौँ इन होटलको रुम बुक गरी बसेको सन्दीपले पुनरावेदनमा उल्लेख गरेका छन् । ‘सँगै कोठामा जाने, प्रतिवादीको गाडीको पछाडिबाट स्न्याप भिडियो खिच्ने, सेल्फी खिचेर पठाउने, वारदात भएको भनिएको मिति पछाडि एक हप्तासम्म प्रतिवादीको नाम लेखिएको जर्सी लगाएर क्रिकेट हेर्ने, खुसीले उमङ्ग हुने, होहल्ला गर्ने, खुसी साटासाट गर्ने जस्ता आचरणले जबरजस्ती करणी भएको पुष्टि गर्दैन,’ सन्दीपको पुनरावेदन निवेदनमा भनिएको छ, ‘करणी भएको कल्पना समेत गर्न सकिँदैन । तसर्थ, कोठामा सँगै बस्नु भनेको बलात्कार गर्नु होइन ।’ काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७