संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा ४-५ दिनमै पेश हुन्छ : प्रधानमन्त्री


११ फाल्गुन २०८०, शुक्रबार
tr

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा ४÷५ दिनमै पेश हुने बताएका छन् । आज (शुक्रबार) २३ औं मजदुर बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले समितिबाट टुंगो लागेर विधेयक ४-५ दिनमै सदनमा प्रस्तुत हुने बताएका हुन् ।

‘विधेयक सदनमा पारित हुने अन्तिम चरणमा छ, ‘उनले भने, ’४ र ५ दिनमै सदनमा पेश भएर पास हुन्छ ।’ प्रधानमन्त्री दाहालले विधेयक पास भएपछि सबै सहिदका परिवारले सरकारबाट पाउने सेवा सुविधा पाउने उल्लेख गरे । उनले शान्ति प्रक्रियाका केही कामहरू बाँकी रहेकाले सबै सहिद परिवारले परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताए ।

प्रधानमन्त्री दाहालले विधेयक पास भएपछि सहिद र बेपत्ता योद्धाहरूले गरेको बलिदानप्रति गर्व हुने बताएका छन् । प्रचण्डले भने, ‘विधेयक पास भएपछि सहिद र बेपत्ता योद्धाहरूले गरेको बलिदानप्रति गर्व हुनेछ । रगत खेर गएको छैन । बरु त्यसको सम्मान भएको छ इतिहासमा । राज्यले पनि त्यसको सम्मान गरेको छ ।’

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सहिदहरू कहिल्यै नमर्ने बताउँदै बेपत्ता योद्धाहरूहरू पनि साँच्चिकै बेपत्ता छन् भने तिनीहरू पनि अमर हुने बताए । प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंगिएपछि जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुने दावी गरे । ‘जनयुद्ध दिवसमा राष्ट्रिय दिवस र बिदा राज्यको तर्फबाट घोषणा भएपनि अदालतले शान्ति प्रक्रिया पूरै नटुंगिएको हुनाले बिदा नमनाउन भनेको हो । यसमा हाम्रो प्रतिक्रिया केही छैन । हामीले जनयुद्ध दिवस मनायौं, फेरि पनि मनाउँछौं । अब शान्ति प्रक्रियाको टुंगो लागिसकेपछि सरकारको तर्फबाट राष्ट्रिय दिवस भएर बिदा दिवस हुन्छ । त्यसमा सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७