नामिबियामाथि नेदरल्याण्ड्सको शानदार जित


१७ फाल्गुन २०८०, बिहीबार
pic VL2WBZ154o

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले शानदार रुपमा पराजित गरेको छ । नेदरल्याण्ड्सले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो । नामिबियाका जान फ्राइलिन्क र जेन ग्रीनले समान ४२ रन बनाए । नेदरल्यान्ड्सका टिम भान डेर गुग्टेनले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २४८ रन बनायो । नेदरल्याण्ड्सका माइकल लेभिटले शतक बनाए । लेभिट ६२ बलमा १३५ रन बनाएर आउट भए । यस्तै साइब्रान्ड एन्गेलब्रेच्टले ७५ रन बनाए । लेभिट र एन्गेलब्रेच्टले दोस्रो विकेटका लागि १९३ रनको कीर्तिमानी साझेदारी गरे । नामिबियाका रुबेन ट्रम्पेलमानले २ विकेट लिए ।

टी–२० क्रिकेटमा नेदरल्याण्ड्सले बनाएको यो सबैभन्दा धेरै रन हो । यसअघि सन् २०२१ मा नेदरल्याण्ड्सले नेपालसँगको खेलमा २०९ रन बनाएको थियो । यस्तै त्रिवि क्रिकेट मैदानमा बनेको यो रन अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०२१ मा नेपालले नेदरल्यान्डसँगको खेलमा २३८ रन बनाएको थियो । यो जितसँगै नेदरल्याण्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ । २ वटै खेल हारेको नेपाल पुछारमा छ । प्रतियोगितामा भोलि नेपाल र नामिबियाबीच खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७