श्रीमान–श्रीमति मिलेर आफ्नै काकाको विभत्स हत्या, भीरमा भेटिएको थियो शव


१९ फाल्गुन २०८०, शनिबार
latest News nayapage1 scaled

नुवाकोट । नुवाकोट खत्रीकुनामा श्रीमान–श्रीमति मिलेर आफ्नै काकाको विभत्स हत्या गरेका छन् । किस्पाङ गाउँपालिका– ५ मा बसेर ज्यामी काम गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका– ३ डाँडागाउँका भुन्टे भनिने ७१ वर्षीय टेकप्रसाद भट्टको हत्या अभियोगमा उनकै भतिजी र ज्वाईंलाई पक्राउ गरेको नुवाकोट प्रहरीले जानकारी दिएको छ ।

टेकप्रसादलाई लाठ्ठी प्रहार गरी विभत्स रुपमा हत्या गरेको कारण प्रहरीले रसुवाको कालिका गाउँपालिका–२ धैवुङका ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमति ३१ वर्षीया दिपा भट्ट भुषाललाई पक्राउ गरेको हो । उनीहरुलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । थप आवश्यक अनुसन्धानको लागि नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखिएको खड्काले बताए ।

डीएसपी खड्काका अनुसार घटनामा अपराध भएको आशंकासँगै त्यसपश्चात तालिमप्राप्त कुकुरको सहयोगमा संलग्न रहेको अभियोगमा भुषाल दम्पत्ति पक्राउ परेका हुन् । उनीहरुले समेत हत्या स्वीकार गरेका छन् । वृद्ध टेकप्रसाद भट्ट यहि फागुन १५ गते मंगलबार बिहान नुवाकोटको किस्पाङ गाउँपालिका–५ खत्रीकुना जंगलमा रहस्यमय रुपमा मृत अवस्थामा फेला परेका थिए । भीरबाट लडेको अवस्थामा उनको शव भेटिए पनि उनको टाउकामा केही प्रहार गरेको चोट र हत्या भएको निष्कर्षको आधारमा प्राप्त तथ्य प्रमाणले घटनामा अपराध भएको र त्यसमा उनको भतिजी दम्पतिको संलग्नता रहेको पाइएको डीएसपी खड्काले बताए ।

मृतक टेकप्रसादले श्रीमान अनिललाई छाड्न दिपालाई फकाएको विषयलाई लिएर सोही रिसईवीको कारणले उनीहरुले टेकप्रसादलाई किस्पाङको एकान्तको खत्रीकुना जंगल (पोलोरो पाखा) स्थित मानेगाउँदेखि चामपानी घलेगाउँजाने बाटोमा जाँदै गर्दा लाठोले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको नुवाकोट प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीको लागि प्रहरीले अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार अविवाहित र नागरिकता समेत नबनाएर लामो समयदेखि घर छाडेर नुवाकोटको किस्पाङका विभिन्न स्थानमा ज्याला मजदुरी र घुमफिर गर्ने, चोया काटेर बाँस र निगालोबाट बन्ने सामाग्री बेचेर जीवन यापन गर्दै आएका टेकप्रसादको मृत्युलाई प्रहरीको विशेष अनुसन्धानमा प्राप्त तथ्यको आधारमा हत्या भएको भन्ने निष्कर्षमा पुगेको थियो । आफ्नै काकाको विभत्स हत्या गरेर फरार भएको दीपाको दम्पत्तिलाई प्रहरी टोलीले काठमाडौ– १६ बालाजु बाइपासबाट पक्राउ गरेर नुवाकोटमा ल्याएर हिरासतमा राखेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७