कलङ्की नापीका सर्भेक्षक चौलागाई र लेखापढी व्यवसायी पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा


२० फाल्गुन २०८०, आईतवार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्गी काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी व्यवसायी नेत्रबहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हाल साविक जग्गा कित्ताकाट गरी पूर्जा उपलब्ध गराइ दिने प्रयोजनार्थ सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा आज (आइतबार) मुद्दा दर्ता गरेको हो । उनीहरुले सेवाग्राहीबाट घुस मागिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सर्भेक्षक चौलागाई र लेखापढी काम गर्ने पोखरेललाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा लेखापढी काम गर्ने पोखरेलले जग्गा हाल साविक एवं कित्ताकाट समेत गरी जग्गाधनी पूर्जा उपलब्ध गराउनको लागि सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको र सो रकममध्ये सर्भेक्षक चौलागाईले जग्गा हाल साविकको काम गरिदिएवापत ५० हजार रुपैयाँ लिएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

लेखापढी व्यवसायी पोखरेललाई एक लाख रुपैयाँ बिगो र बिगो बमोजिम जरिवाना तथा सर्भेक्षक चौलागाईलाई ५० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७