बालेनलाई सांसद साहको चेतावनी : ज्यादती नरोकिए काठमाडौं छोड्ने दिन आउँला

कवाड व्यवसायीको आन्दोलनलाई प्रभु साह, डा. सीके राउत र डा. अमरेशकुमार सिंहकाे समर्थन


२० फाल्गुन २०८०, आईतवार
balen birodh

–सञ्जय मिश्रा
काठमाडौं । संघीय संसद किरनकुमार साहले काठमाडौ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । काठमाडौंस्थित कवाड व्यवसायीहरुको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिङ्गो नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिवद्धता जनाएका छन् ।

महानगरपालिकाले कवाडीहरुमाथि गरेका ज्यादतीविरुद्ध आइतबार कवाड व्यवसायीहरुले दोश्रो दिन सड़क प्रदर्शन गरेका छन् । महानगरको हस्तक्षेविरुद्ध गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक नागरिकले बिना रोकतोक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकारसंँग माग पनि गरे । उनले बालेनले गरेको हर्कत बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । बालेनको पछिल्लो कदम तानाशाही भएको भन्दै उनले भर्त्सना समेत गरे । उनले एमाले साथमा रहेको भन्दै सडकदेखि सदनसम्म कवाड व्यवसायीको पक्षमा जोडदार आवाज उठाउने बताए ।

423422461 1564538237421363 5846844844529505854 n.jpg

‘कवाड व्यवसायीहरु बर्षौंदेखि काठमाडौमा रहेर व्यापार गर्दै आएका छन् । तर, महानगर प्रमुख बालेन अदालत र नेपालको कानुनभन्दा माथि छैनन्, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तपाईंहरुको साथमा छ,’ उनले भने, ‘बालेनजी तपाईं जुन उद्योगी, ब्यवसायी, श्रमजीविको अधिकार खोस्न लागि पर्नु भएको छ । कहीं तपाईलाई काठमाडौँ छोड्न नपरोस् ।’

कवाड व्यवसायीको माग बालेनले नभएर काठमाडौं महागरपालिकाकाले सम्बोधन गर्नुपर्ने उनकोे भनाइ छ । सांसद किरणकुमार साहले काठमाडौंलाई सुन्दर सफा र स्वच्छ बनाउन कवाड व्यवसायीको ठूलो भूमिका रहेको चर्चा गर्दै उपत्यकाबाट दैनिक ७० ट्रक कवाड बाहिर जाने गरेको बताए । आमजनता पार्टी निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहले पनि कवाड व्यवसायीको अधिकारको लागि आवाज उठाए ।

काठमाडौं महानगरालिकाकाले कवाडी हरुलाई व्यवसाय बन्द गर्न सूचना जारी गरेपछि उनीहरु आन्दोलित भएका छन् । कवाड व्यवसायीको आन्दोलनलाई आमजनता पार्टीका अध्यक्ष प्रभु साह, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले समर्थन जनाएका छन् । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७