नयाँ गठबन्धनमा चार उपप्रधानमन्त्री : अर्थ वर्षमानलाई, गृहमन्त्री बनाउने जिम्मा ओलीलाई


२१ फाल्गुन २०८०, सोमबार
Gathabandhan news with amale 3

काठमाडौं । नयाँ सत्ता गठबन्धनमा चार उपप्रधानमन्त्री हुने भएका छन् । सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक-एक जना उपप्रधानमन्त्री हुने समझदारी भएको हो ।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलो पटक उपप्रधानमन्त्री हुने पक्का भएको छ । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । पुन यसअघि पनि अर्थमन्त्री बनिसकेका छन् ।

त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन् । उनी यसअघि दुई पटक परराष्ट्रमन्त्री भएका थिए । रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ । उनले गृह मन्त्रालय मागेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले गृहमन्त्री कसलाई बनाउने भन्ने जिम्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।

गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेले अडान नछाडेपछि प्रधानमन्त्रीले गृहमन्त्रीको टुंगो लगाउने जिम्मा ओलीलाई दिएका हुन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफल उदृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘गृह मन्त्रालय तपाईंहरू (एमाले) को भागमा हो । तपाईं आफै राख्नु हु्न्छ अथवा रास्वपालाई दिनुहुन्छ । त्यसको निर्णय तपाईं आफै गर्नुहोस् ।’

उता एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने बलियो सम्भावना छ । तर उनले कुन मन्त्रालय पाउने भन्नेबारे अलिहेसम्म टुंगो लागिसकेको छैन । गत वर्ष पुस १० गते दाहालकै नेतृत्वमा सरकार बन्दा पौडेल अर्थ र लामिछाने गृहमन्त्री भएका थिए ।

शक्ति बाँडफाडबारे छलफल गर्न बालुवाटारमा चार दलको बैठक बसिरहेको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार नै सानो आकारको मन्त्रिपरिषद गठन हुने जानकारी दिएका छन् । नयाँ गठबनधनमा प्रतिनिधिसभामा एमालेको ७८, माओवादी ३२, रास्वपा २१, जसपाका १२ जना सांसद छन् । जनमत पार्टीलाई पनि सरकारमा ल्याउने तयारी छ । एमाले रास्वपा सरकारमा जाँदा कांग्रेस एकीकृत समाजवादी भने बाहिरिने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७