खानामा माछा नदिँदा पर्सामा कुटपिट, बिहे बहिष्कार गरेर जन्ती फिर्ता


२३ फाल्गुन २०८०, बुधबार
fish

–सञ्जय मिश्रा
पर्सा । खानाको बिषयलाई लिएर बिवाद भएपछि बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको बिभिन्न प्रान्तमा हुने गरेका समाचार बिगतमा सुन्न र पढ्न पाइन्थ्यो । तर, यस्तै घटना मधेश प्रदेशको एक पालिकामा भएको छ । जहाँ जन्तीलाई खानामा माछा नदिँदा जन्ती र बेहुली पक्षबीच कुटपिट भएर अन्तमा बिहे बहिष्कार गरी जन्ती फिर्ता गएको घटना प्रकाशमा आएको छ ।

पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट सोमबार राति आएको जन्तीमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिईकन बेहुलासहितको जन्ती फिर्ता गएको छ । जन्तीमा आएकाहरुले खानामा माछा नपाएको कारण भनाभन हुँदै कुटापिटमा परिणत भएको थियो । कुटपिटबाट बेहुलाका बुबा घाइते भएपछि बिहे नै नगरी जन्ती खाली हात फिर्ता हुने अवस्था आएको थियो ।

कुटपिट भएपछि जन्तीहरु सबै जना भागेका थिए । जन्ती भागेको देखेर बेहुली पक्षका मानिसहरुले बेहुलालाई घरमै थुनेर राखेका थिए । घटनाको खबर पाएर तत्काल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर मोहनविक्रम केसीको कमाण्डमा गएको टोलीले बेहुलाको उद्धार गरी प्रहरी कार्यालयमा सुरक्षित राखेका थिए ।

इलाका प्रहरी कार्यालय पोखरीयामा हिजो मंगलबार दुई पक्षबीच छलफल हुँदा बेहुलीले बिहे गर्न इन्कार गरेपछि जन्तीसहित बेहुला आफ्नो घर फर्केको इन्स्पेक्टर केसीले बताएका छन् । स्थानीय सञ्चारकर्मी संजीव मिश्रका अनुसार एक जना जनप्रतिनिधिले घटना मिलाएर बिहे गराइ दिने दिनभरि प्रयास गरे पनि असफल भएका थिए । केटी पक्षधरले दाइजोको १२ लाख रकम फिर्ता लिने अडान राखेका छन् भने केटाको पक्षले बिहेमा खर्च भएको भन्दै पैसा फिर्ता नदिने बताइरहेका छन् ।

पर्सा प्रहरी प्रवक्ता डिएपी कुमारबिक्रम थापाले घटनाको पुष्टि गरेका छन् । बेहुला र बेहुली पक्षबीच कुटपिट उग्र भएपछि इन्स्पेक्टर केसीको पहलमा साम्य भएको प्रवक्ता थापाले जानकारी दिएका छन् । पछिल्लो समय मधेश प्रदेशमा छोरीको बिहेमा जन्ती आउँदा प्रायः मानिसले खानामा माछा दिने गर्दछन् । कतिपय दुई पक्षबीच खानाको बारेमा के ख्वाउने भनेर पहिल्यै सहमति हुने गर्दछ । यसरी बिहेमा माछा नख्वाउँदा कुटपिटसम्म हुने र बिहे नै बहिष्कार गरी जन्ती फिर्ता हुनु आफैमा अप्रिय घटना भएकाले गाउँका अगुवाहरु पुनः कुनै गाउँमा यस्ता दुःखद घटना नहोस् भनेर चनाखो हुनु अथवा चेतना फैलाउनु जरुरी देखिन्छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७