खाली ट्रकको नाममा तस्करी, भन्सार प्रमुख नहुँदा दोस्रो पटक समातियो बहुराष्ट्रिय कम्पनीको सामान


२७ फाल्गुन २०८०, आईतवार
Bhansar bhairahawa

–मोहम्मद हबिब
भैरहवा । भैरहवा भन्सार नाका हुँदै विना कागजात भारततर्फ जाँदै गरेको अवस्थामा ट्रकसहित टुथपेस्ट, पाउडरलगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ । नेपालबाट बाहिरिने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार नाका अगाडिबाट बरामद भएको हो ।

भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि जाने नाममा सामान लोड गरी लैजाँदै गरेको अवस्थामा कागजपत्र नभएको ट्रकसहितको सामान नियन्त्रणमा लिएको जानकारी दिए । ‘कागजपत्र विना नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका (भन्सार गेट) बाट नियन्त्रणमा लिइएका छौं । कार्यालयले अनुसन्धान गरिरहेको छ, हामीले भारतीय कस्टमसँग समन्वय गरेर चालक र सहचालक खोज्ने प्रयासमा छौं ।’ आफू काठमाडौं भएकाले आएर मात्रै पूर्ण विवरण दिने उनले बताए । उनका अनुसार ट्रकमा भएको सबै सामानको यकिन भएको छैन ।

IMG20240309120754.jpg

‘प्रारम्भिक अनुसन्धानबाट उक्त ट्रकमा डाबरको रेड टुथपेस्ट, क्लोसअप टुथपेस्ट र पोन्डसको पाउडर लगायतको बस्तु रहेको पाएका छौ’, उनले भने । नेपालबाट बाहिरिने क्रममा भन्सार अगाडिको कर्मचारीले त्यो गाडी चेकजाँचका लागि भनेका थिए । चालकले आनाकानी गर्दा इलाका प्रहरी कार्यालयको सहयोगमा गाडी चेकजाँचका लागि चालकलाई ढाला खोल्न भन्दा चालक र सहचालक फरार भएको थिए ।

स्रोतका अनुसार त्यो गाडी नेपालगञ्ज नाकाबाट नेपाल भित्रिएको थियो, गाडीको स्वरुप नै उचाई ढालाको रहेकाले ढाला भन्दा केही तलसम्म मात्रै उक्त सामान मिलाएर त्रिपालले ढाकिएको अवस्थामा राखिएको थियो । भन्सार कार्यालयले यसअघि पुस ६ गते पनि यसै अनुरुपको भारत जान लागेको ट्रकबाट ३५८ कार्टुन क्लोज अफ टुथपेस्ट बरामद गरेको थियो । बरामद समानहरु बहुराष्ट्रिय कम्पनीका नेपालका लागि उत्पादन भएको सामान हो ।

भारतले यी बस्तुको आयातमा प्रतिबन्ध लगाएको खाली ट्रक चेकजाँच हुँदैन भन्ने नाममा नेपालबाट अवैध रुपमा भित्रिने गरेको रहस्य खुलेको छ । यसअघिको र अहिले दुवै घटनामा भन्सार प्रमुख बाहिर हुँदा यो रहस्य बाहिरिएको छ । चेकजाँचमा खटिएको सोही कर्मचारीले नै यसअघिको ट्रक पनि रोकेर चेकजाँच गरेका थिए । बहुराष्ट्रिय कम्पनीका नेपालका लागि आएको उत्पादनहरु ठूलो मात्रामा केही समय पहिला बेलहिया–गोरखपुर सडकखण्डको कोल्हुईमा पनि बरामद भएको थियो ।

सीमा क्षेत्रबाट नेपालका लागि उत्पादित बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु अवैध तरिकाले भारत जाने गरेता पनि भन्सार कार्यालय अगाडिबाटै अहिलेसम्मकै ठूलो मात्रामा सामान बरामद भएको हो । कसले कहाँ कोमार्फत पठाईरहेको थियो भन्ने खुल्न सकेको छैन । ट्रकको अगाडि मात्रै एउटा नम्बर प्लेट रहेको छ भने पछाडि कुनै नम्बर प्लेट नरहेकाले ट्रक पनि शंकास्पद देखिएको छ ।

अन्नपूर्ण टर्मिनल्सले यो नम्बरको गाडी यस नाकाबाट प्रवेश नै नगरेको जानकारी दिएको छ । गाडी अन्यत्रबाट आएर भारत जान लागेको हुन सक्ने टर्मिनलले जानकारी दिएको छ । भैरहवामा रहेको डिलरले पछिल्लो समय ठूलो मात्रामा कसैलाई सामान विक्री नगरेको दाबी गरेका छन् । बरामद सामान ठूलो मात्रामा रहेको र यस क्षेत्रबाट नभई सीमावर्ती जिल्लाका डिलरमार्फत आएको हुनुपर्ने दाबी गरे । चुस्त सुरक्षाको वावजुद पनि ठूलो मात्रामा मुख्य नाकाबाट तस्करी गराउनु विना सेटिङ सम्भव छैन । सुरक्षा निकाय, भन्सार, निर्यातकर्ता र आयातकर्ताको संलग्नतामा मात्रै कसैले आँट गर्न सक्छ ।

चालक र परिचालक फरार नेपालबाट भए पनि सीमामा एसएसबीले कुनै पनि नागरिकलाई परिचय पत्र चेकजाँच नगरी जान पनि दिंदैन । भन्सार र सुरक्षा संयन्त्रको उपस्थितिले चासो नदिएको कारण पनि सम्बन्धित व्यक्ति सहजै फरार भएको देखिन्छ । भन्सार मुद्दा शाखाले अहिलेसम्म कसैले पनि सामान मेरो हो भन्ने दाबी कसैको नआएको बताए । कागजपत्र पनि नरहेको यस्तो घटना यसअघि भएको थियो । त्यो पनि कसैले दाबी नगरेको कारण लिलाम पक्रियामा गएको थियो । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७