राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित


२९ फाल्गुन २०८०, मंगलवार
narayan Dahal नारायण दाहाल

काठमाडौं : राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै विजयी भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरे । त्यस्तै शर्माले १७ मत प्राप्त गरे ।

 मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरे ।

अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत पाए । त्यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिएका छन् ।

राष्ट्रिय सभामा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद रहेका छन् । कांग्रेसले आफ्नोबाहेक लोसपाको १ मत पाएको छ । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले भने तटस्थ रहे । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त रहेको छ ।

चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय छन् । उनी २०५७ देखि माओवादी केन्द्रीय सदस्य छन् ।

दाहाल विस्तृत शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा सांसद थिए । २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । २०७० को चुनावमा भने सोही क्षेत्रबाट पराजित भएका थिए ।

२०१२ सालमा जन्मिएका दाहाल नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ पर्छन् । यसअघि दाहाल प्रधानमन्त्री हुँदा उनी सल्लाहकार थिए ।

२०७८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत बनेका उनी २०८४ सम्म अध्यक्षमा कायम रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष संवैधानिक परिषदको सदस्यसमेत रहने प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७