आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्काविरुद्ध फेरि सर्वोच्च पुग्यो अख्तियार


४ चैत्र २०८०, आईतवार
gopal khadka
फाइल फोटो

काठमाडौं । मागदाबी अनुसार विशेष अदालतलबाट सजाय र जरिवाना नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।

खड्काविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले आज (आइतबार) सर्वोच्चमा पुनरावेदन गरेको हो । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा खड्काविरुद्ध २०८० असार १५ गते ९ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजायको फैसला सुनाएको थियो । तर सो फैसलामा चित्त बुझ्दो नभएको भन्दै अख्तियार सर्वोच्च पुगेको हो ।

यसअघि अख्तियारले खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगसहित उक्त रकम र सम्पत्ति जफत तथा दुई वर्ष कैद सजाय मागसहित २०७५ पुस २३ गते विशेष अदालतमा रिट हालेको थियो । उक्त भ्रष्टाचार प्रकरणमा आफ्नो माग दाबीअनुसार नगरी आधा मात्रै सजाय गरेको जिकिरसहित अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो ।

अख्तियारले त्यसबेला खड्काले शर्मिला खड्का र अंकिता लामाको नाममा सम्पत्ति लुकाएको आरोप लगाएको थियो । विशेष अदालतले त्यसलाई आंशिक रूपमा ठहर गर्दै उनीहरूको नाममा रहेको ३ कित्ता घरजग्गा बिगोको हदसम्म जफत गर्ने फैसला गरेको थियो । अख्तियारले खड्का र लामाविरुद्ध पनि पुनरावेदन दर्ता गर्दै आफ्नो मागदाबी अनुसार सजाय गरिनुपर्ने जिकिर गरेको छ । अख्तियारको अनुसन्धानका क्रममा खड्कासँग २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ सम्पत्ति भेटिएको थियो ।
जसमध्ये ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ मात्रै वैध आम्दानी भएको खुलेको थियो । आयल निगमको कार्यकारी निर्देशक बनेको ६ महिनामा मात्रै उनले ७ करोड ४४ लाख सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७