विद्यालय भवन निर्माणमा भ्रष्टाचार : अधिकृत, इन्जिनियर र प्रधानाध्यापकविरुद्ध मुद्दा


५ चैत्र २०८०, सोमबार
Akhtiyar

रौतहट । रौतहट इशनाथ नगरपालिका–५ स्थित आधारमूत विद्यालय लक्ष्मिनिया जटहरामा दुई कोठे भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । इशनाथ नगरपालिकाका तत्कालीन इन्जिनियर सत्यपाल सौरभ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता र आधारभूत विद्यालय लक्ष्मीनियाका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरूविरुद्ध विद्यालयको भवन निर्माणका क्रममा मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको काम गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन इन्जिनियर सौरभ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ता र तत्कालीन प्रधानाध्यापक अख्तरले भ्रष्टाचार गरेको पुष्टि भएपछि आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

इन्जिनियर सौरभले फिल्डमा वास्तविक कार्य भएकोभन्दा बढी देखाइ भुक्तानी दिन सिफारिस गरेको अख्तियारको ठहर छ । उनीमाथि ८८ हजार ६४७ रुपैयाँ बिगो असुल गरी सजाय हुन माग दावी गरिएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले भुक्तानी नहुनुपर्ने २ लाख ३५ हजार ८९५ रुपैयाँ भुक्तानी दिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उनीविरूद्ध सोही रकम बराबरको बिगो माग गरिएको छ । यस्तै विद्यालयका तत्कालीन प्रधानाध्यापक अख्तरले भवन निर्माणको काममा झुट्टा विल बनाइ बढि भुक्तानी दिने कार्य गरी सार्वजनिक निकायलाई हानिनोक्सानी हुने कार्य गरेकाले उनीविरूद्ध ३ लाख ३ हजार ७९७ रुपैयाँ बिगो असुल र कैद सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७