बेलबारी घटना : आमा मारेर बुबाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए आठ वर्षीय बबिन

बमबहादुर र गीता दुबैको दोस्रो विवाह थियो


७ चैत्र २०८०, बुधबार
Belbari hatya 1

मोरङ । मोरङको बेलबारीका आठ वर्षीय बबिन लिम्बू । उनी ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूका छोरा हुन् । उनी २ कक्षामा पढ्दै थिए । बमबहादुर र गीताको बिहे कहिले भएको थियो यकिन भइसकेको छैन । प्रहरीका अनुसार अहिले यत्ति खुलेको छ–दुबैको दोस्रो बिहे थियो । बबिन उनीहरूका एक्ला छोरा हुन् । बुझ्नमा आएसम्म गीतापट्टीका जेठा श्रीमान र बमबहादुरकी जेठी श्रीमतीका छोराछोरी छन् । कति कहाँ छन् सबै खुलेको छैन । गीताको पहिलेको घर धनकुटा हो । बमबहादुरको तेह्रथुम हो भन्ने बुझिएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालका अनुसार गीतापट्टीकी पहिलेकी छोरी दमक रहेको पत्ता लागेपछि खबर गरियो । उनी प्रहरी कार्यालयमा आइसकेकी छिन् । बमबहादुरकी जेठीपट्टीका सन्तानको खोजी भइरहेको छ । दाहालका अनुसार बमबहादुर र गीता चार–पाँच वर्षअघि बेलबारी आएका थिए । उनीहरू बेलबारी नगरपालिका–१ की निर्मला राईको घरमा भाडामा बस्थे ।

एक तले भुइँघरमा उनीहरूले दुई कोठा भाडामा लिएका थिए । घरबेटी निर्मला एउटा कोठामा बस्थिन् । बमबहादुर र गीता त्यहीँ एउटा घरमा चिया बनाउने तथा मर्चा (जाँड बनाउने कच्चा पदार्थ) बेच्थे । उनीहरूबीच बेला–बेलामा झगडा परिरहन्थ्यो । एक वर्षअघि गाउँ–समाज बसेर झगडा मिलाइ दिएका थिए ।

‘श्रीमानले अलि बढी शंका गर्ने गर्दा रहेछन्, त्यसैमा उनीहरूको झगडा हुन्थ्यो भन्ने गाउँलेहरूबाट बुझिन्छ,’ दाहालले भने । बुधबार बिहानको राति १ः५० तिर इलाका प्रहरी कार्यालय बेलकामा बमबहादुर र गीताका छिमेकी आइपुगे । आउने स्थानीयले सन्देश बोकेका थिए–गीता र बमबहादुर दुबै रक्ताम्य ढलेका छन् । यसपछि प्रहरी बमबहादुर र गीता बस्ने घर पुगेको थियो ।

दाहालका अनुसार बमबहादुर र गीताको झगडा मध्यरातमा परेको हुनसक्छ । त्यो झगडा उत्कर्षमा पुग्दा बमबहादुरले गीतालाई दाउ प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘जब गड्डाङगुडुङ गर्‍यो, बबिनले थाहा पाए, घरबेटी निर्मला घटनास्थलमा पुगेकी थिइन् । त्यतिबेला बबिन कोठाभित्रै थिए,’ दाहालले भने, ‘बमबहादुर गीतालाई प्रहार गरेको दाउले आफ्नो घाँटी रेटिरहेका थिए ।’

घरबेटी निर्मला आत्तिइन्, हत्तपत्त ढोका खोलिन् । डरले लुगलुग काँपिरहेका बबिन् निर्मलासँगै बाहिर छिमेकीसँग हारगुहार गर्न पुगेका थिए । ‘यो घटना साढे १ बजेतिरको हुनुपर्छ, १ः५० मा प्रहरीमा खबर पुगिसकेको थियो,’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले भने । प्रहरी निरीक्षक दाहालका अनुसार घटनास्थल पुग्दा गीताको शरीरमा जीवित चाल थिएन । बमबहादुर जीवित थिए । उनलाई तत्काल नोबेल अस्पताल विराटनगर लगियो । तर, उपचार प्रारम्भमै उनको मृत्यु भयो ।

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ । उनीहरूबीच मध्यरातमा के झगडा भयो खुलेको छैन । जीवनको उत्तरार्द्धमा बमबहादुरले श्रीमतीको हत्या गरेर बबिनको सहारा खोसे । न आफू रहे । रहेका भए पनि उनी जेल पुग्थे । बबिन ‘टुहुरा’ हुन्थे । बुवा–आमा दुबै नरहेपछि बबिनको कलिलो बाल्यकाल अनिश्चय बनेको छ । उनी अहिले जेठीआमाकी छोरीको काखमा पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७