आईपीएल : मयंकले फाले आईपीएलको यस सिजनकै तीब्र बल !


२१ चैत्र २०८०, बुधबार
mayank

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्सबाट खेलिरहेका तीब्र गतिका भारतीय बलर मयंक यादव चर्चाको केन्द्रमा रहेका छन् । गए राति सम्पन्न खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई उसकै घरेलु मैदानमा पराजित गर्ने क्रममा मयंकले तीन महत्वपूर्ण विकेट मात्र लिएनन्, आईपीएलको यस सिजनको अहिलेसम्मको तीब्र बल फालेर चकित पारेका छन् ।

उनले १५६.७ किमी÷घण्टाको गतिमा बल फाले, जुन प्रतियोगिताको इतिहासमा चौथो सबैभन्दा छिटो बल थियो भने यस सिजनको अहिलेसम्मकै तीब्र थियो । उनले ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन र रजत पाटीदारलाई आउट गरेका थिए । उनले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएका थिए । यस स्पेलमा उनले १५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा ८ बल बलिङ गरेका थिए । यी मध्ये एउटा बल १५६.७ किमी / घण्टाको गतिमा थियो, जुन आइपिएल इतिहासको चौथो सबैभन्दा छिटो बल हो ।

पहिलो नम्बरमा अष्ट्रेलियाका शान टेट छन्, जसले २०११ को आईपीएलमा १५७.७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । त्यस्तै लुकी फर्गुसनले २०२२ मा १५७.३ किमी प्रति घण्टा तीब्र बल फालेका थिए । भारतका उमरान मलिकले २०२२ सिजनमा १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । यस अघि मयङ्कले पञ्जाबविरुद्धको डेब्यु खेलमा १५५.८ किलोमिटर / घण्टाको गतिमा बल फालेका थिए । यस सिजनमा २ खेल मात्र खेलेका मयंकले अहिलेसम्म ६ विकेट लिएका छन् भने दुवै खेलमा प्लेयर अफ द म्याच समेत बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७