सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासकाे मत नदिन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको ‘ह्वीप’

कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनु : रेशम चौधरी


२१ चैत्र २०८०, बुधबार
Resham ranjita

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेकी छन् । अध्यक्ष श्रेष्ठले प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएकाले पार्टी अध्यक्षले नै ह्वीप जारी गरेको बताएकी छिन् ।

‘नागरिक उन्मुक्ति पार्टी, सुदुरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालनलगायतका कार्यक्रमका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टी केन्द्रीय अध्यक्षलाई नै भएकाले कमलबहादुर शाहले लिन गइरहेको विश्वाशको मतको विपक्षमा मतदान गर्नु हुन निर्देशनसहितको ह्वीप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।
मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा नाउपाका ७ जना सांसद छन् तीमध्ये ५ जना मन्त्री छन् ।

कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनु : रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । हिजो आफ्नो निवास बर्दियामा सुदूरपश्चिमका पाँच मन्त्रीलाई बोलाएर चौधरीले यस्तो निर्देशन दिएका हुन् । भोलि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पार्टी भित्रै तीव्र विवाद जारी छ । अध्यक्ष रन्जिता श्रेष्ठ केन्द्रमा तयार भएको नयाँ गठबन्धन अनुसार सरकार बनाउनु पर्ने जोडमा छिन् भने रेशम चौधरी कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनुपर्नेमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७