राजीनामा दिने कि नदिने भन्ने निर्णयको अधिकार मुख्यमन्त्री शाहलाई


२२ चैत्र २०८०, बिहीबार
kamal bahadur shah

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको बिहीबार बिहान बसेको बैठकले विश्वासको मत परीक्षण गर्ने या राजीनामा दिने अधिकार मुख्यमन्त्री कमलबहादुर शाहलाई दिने निर्णय गरेको छ । मुख्यमन्त्री शाहले आज (बिहीबार) प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने भन्दै यसअघि नै प्रदेश सभामा प्रस्ताव दर्ता गराइसकेका छन् । विश्वासको मतको पक्ष विपक्षमा नागरिक उन्मुक्तिका सांसदहरु विभाजित भएपछि कांग्रेसले आवश्यक निर्णय गर्न संसदीय दलको बैठक बोलाएको थियो ।

‘विश्वासको मत फेस गर्ने या राजीनामा गर्ने भन्ने निर्णय लिने अधिकार स्वंय मुख्यमन्त्रीलाई नै दिने निर्णय भएको छ,’ कांग्रेस सांसद पदमबहादुर शाहीले भने, ‘परिस्थिति हेरेर उहाँ आफैले निर्णय गर्नु हुनेछ ।’ सात सांसद रहेको नागरिक उन्मुक्तिका सांसद एक ढिक्का नभएसम्म विश्वासको मत पुग्ने अवस्था देखिन्न ।

अहिले सरकारमै रहेका नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीसहित पाँच जना सांसद विश्वासको मत दिने पक्षमा भएपनि सांसद कैलाश चौधरी र टीका थापा विश्वासको मत नदिने अडानमा छन् । उनीहरु काठमाडौंबाट धनगढी पनि आएका छैनन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एक जना कांग्रेस सांसदको मृत्युपछि हाल ५२ जना छन् । मुख्यमन्त्री शाहलाई विश्वासको मतका लागि २७ मतको आवश्यकता छ ।

हाल कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात सांसद छन् । नागरिक उन्मुक्ति एक ढिक्का भएमा एक सांसद रहेको राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थन लिएर विश्वासको मत प्राप्त गर्न सकिने आंकलन मुख्यमन्त्रीको थियो । त्यसैमा हाल काठमाडौंमै रहेका स्वतन्त्र सांसद ताराप्रसाद जोशीले पनि २६ मत पुग्ने अवस्थामा सरकार आफूले मत दिने भएपनि त्यो अवस्था नदेखिएकाले आफू पनि अनुपस्थित रहने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७