कोशीमा एमालेका ३९ सांसदले फिर्ता लिए सरकारलाई लिएको समर्थन


२६ चैत्र २०८०, सोमबार
hikmat karki 1

मोरङ । नेकपा माओवादी केन्द्रपछि नेकपा एमालेले पनि कोशी सरकारलाई दिएका समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएका एमालेका ३९ सांसदले सोमवार समर्थन फिर्ता लिएर हिम्मत कार्कीलाई मुख्यमन्त्रीको वैकल्पिक दाबी पेश गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको प्रदेशसभा सदस्यको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त कार्कीलाई संसदका रुपमा समर्थन गरेका एमालेका सांसदहरुले समर्थन फिर्ता लिएका हुन् । सत्ता घटक दल माओवादी केन्द्रसंग पटक–पटकको छलफल र संवादपछि एमाले सांसदहरुले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष समर्थन फिर्ता लिएको लिखित जानकारी गराएका हुन् । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘हामी ३९ जनाले प्रदेश प्रमुख र सभामुखलाई भेटेर समर्थन फिर्ता लिने जानकारी गरायौँ ।’

गठबन्धन दलले मुख्यमन्त्रीलाई दिएको समर्थनका साथै कात्तिक १ गते दिएको विश्वासको मत र सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्रीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनुपर्ने एमालेको दाबी छ ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भण्डारीले माओवादीका तीन मन्त्रीले राजीनाना दिएर उसले पनि समर्थन फिर्ता लिएपछि वैकल्पिक सरकार निर्माणका लागि बहुमत तयार भएको दाबी गरेका छन् । संविधानको धारा १८३ को उपधारा २ बमोजिम विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई लिखित आवेदन दिइने उनले जनाए । ‘बुहुमत सदस्यहरुको समर्थन फिर्तापछि मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेकाले हामी सक्षम छौं सरकार गठनको प्रक्रिया अघि बढाइयोस् भन्ने दाबी हो’, भण्डारीले भने ।

अर्को सत्तारुढ घटक एकीकृत समावादीले भने सरकारवाट समर्थन फिर्ता नगर्ने जनाएको छ । एसबाट कमल प्रसाद जवेगु भौतिकमन्त्री छन् । कोशी प्रदेश सरकारमा एसका ४ सांसद छन् । संवैधानिक रुपमा अहिलेको सरकारबाट समर्थन फिर्ता लिन दलीय ह्वीप नलाग्ने भएकाले सांसदहरूले नै समर्थन फिर्ता लिनुपर्ने हुन्छ ।

प्रदेश सभा सदस्य केदार कार्कीले नेकपा एमालेकै सहयोगमा मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरेका थिए । गत असोज २७ गते नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । तत्कालीन सत्ता गठबन्धनले नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कार्कीले ८ सांसद लिएर विद्रोह गरेका थिए । त्यसबेला कार्कीको विद्रोहलाई एमालेले साथ दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७