सशस्त्र प्रहरीकाे गोदाममा आगलागी : घटना अनुसन्धान गर्न समिति गठन हुने

आगो निभाउन सात दमकल र ट्यांकर परिचालन


२६ चैत्र २०८०, सोमबार
aaglagi apf

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदाम (स्टोर) मा लागेको आगलागीबारे अनुसन्धान गर्न समिति गठन हुने भएको छ । आज (सोमबार) साँझ सशस्त्रको केन्द्रीय गोदाममा आगलागी भएको हो । गोदाममा आगलागी भएकाले मानवीय क्षति नभएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले बताए ।

fire

‘के–कसरी आगो लागेको हो, अहिलेसम्म थाहा भएको छैन’, उनले भने, ‘स्टोरमा राखिएको लजिस्टिकमा आगो लागेको हो । त्यसबारे एआईजी साप’ को नेतृत्वमा अनुसन्धान हुने भएको छ ।’ कसको नेतृत्वमा भन्नेबारे भने उनले केहि खुलाएनन् । यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आइसकेको छैन । अहिले त्यहाँ आगो नियन्त्रणका लागि उपत्यकाका ७ वटा दमकल खटिएका छन् ।

APF

अग्निनियन्त्रकको ठूलो टोली पनि तैनाथ छ । दमकलसँगै दर्जनौँ पानी बोक्ने ट्यांकरलाई पनि आगो नियन्त्रणका लागि लगाइएको छ । आगलागी भएको सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा देशभरका ब्यारेकमा पठाइने जिन्सी सामान राखिएको थियो । उक्त स्टोरमा जिन्सी सामान मात्रै भएकाले सशस्त्र प्रहरीका कागजपत्र जोगिएका छन् । सशस्त्र प्रहरीका कारोबार र खरिदका सबै कागजपत्र हलचोकस्थित मुख्यालयमा सुरक्षित छन् । सशस्त्र प्रहरीले यहाँ लत्ता कपडा, जुत्ता, मण्डी, म्याट्रेस र चुस्तासहितका सामान राखेको थियो । स्टोरका लागि मात्रै प्रयोग गरिने यो ठाउँमा सामान निकाल्दा मात्रै खोलिन्थ्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७