राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने, ५० हजार नागरिक उतार्ने दावी


२७ चैत्र २०८०, मंगलवार
raprapa
फाइल फोटो

काठमाडौं । राप्रपाले आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गर्दैछ । संबैधानिक राजतन्त्रका पुनः स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो । अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ ।

राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाइ उतार्ने दावी गरेको छ । राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगायतका माग रहेका छन् । राप्रपाले आफ्ना विभिन्न संगठन, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गरेको छ । काठमाडौंको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने राप्रपाको तयारी छ ।

जिल्लाका प्रतिनिधिहरूलाई आन्दोलनसम्बन्धी प्रशिक्षण समेत दिएको राप्रपाको जनप्रदर्शनमार्फत आफ्नो मागमा सरकारलाई घुँडा टेकाउने दावी गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेलनले पार्टीले पेश गरेका ४० बुँदे मागलाई सरकारले उपेक्षा गरिरहेकाले वृहद जनप्रदर्शन गर्न लागिएको बताएका थिए । आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने पनि उनले प्रष्ट पारेका छन् ।

‘आन्दोलनमा हिंसा र तोडफोडका कामहरु हुने छैनन्,’ उनले भने, ‘सरकारले जुलुसलाई उत्तेजित तुल्याउने र अवरोध सिर्जना गर्ने काम नगरोस् भन्ने हाम्रो आग्रह छ ।’ विरोध र सभा सम्मेलन गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्दै घोषणा गरिएको निषेधित क्षेत्र राप्रपाले नमान्न लिङदेनले घोषणा गरेका छन् । ‘निषेधित क्षेत्र तोडेर अगाडि बढ्छौं, सरकारले दमन गरेर मुठभेडको स्थिति निर्माण नगरोस्,’ उनले भनेका छन्, ‘अन्यथा प्रतिवाद गर्न वाध्य हुनेछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७