संसद खुलाउन बालुवाटारमा जुटेन सहमति, बिना निष्कर्ष सकियो छलफल

कांग्रेसको अडान–संसदीय छानबिन समिति गठन, सत्तापक्ष–हुँदैन


२७ चैत्र २०८०, मंगलवार
gagan sitaula chalfal

काठमाडौं । संसदको अवरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षी दलबीचको छलफल बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका थिए ।

उक्त छलफलमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडान दोहोर्‍याएको छ भने सत्तारूढ दलहरूले संसदीय समितिको आवश्यकता नरहेको दाबी गरेका छन् । बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष तयार नदेखिएकोले बालुवाटारको छलफल समझदारीमा पुग्न नसकेको जानकारी दिए । कांग्रेसले सहकारी प्रकरणमा लाखौं बचतकर्ता पीडित रहेकोले संसदीय समिति गठन गरेर छानबिन गरिनुपर्ने बताउँदै आएको छ ।

सभामुख घिमिरेले सोमबार पनि सिंहदरबारस्थित कार्यकक्षमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । आज (मंगलबार) बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अहिलेसम्म बस्न सकेको छैन । कांग्रेसले यसअघिको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अल्टिमेटम दिएको थियो । यस विषयमा सत्ता र प्रतिपक्षीबीच सहमति नहुँदा बैठक अन्योलमा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७