रञ्जिताले दलको नेता बनाएका कैलाश चौधरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै


२९ चैत्र २०८०, बिहीबार
Ranjita kailash

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गर्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीका नेता कैलाश चौधरीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने बताएकी छन् ।

भोलि सुदूरपश्चिममा नयाँ सरकार बन्ने र आफ्नो पार्टीले नेतृत्व गर्ने अध्यक्ष रञ्जिता चौधरीले दावी गरिन् । अध्यक्ष रञ्जिताका अनुसार नाउपालाई मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री दिने बिषयमा बुधवार (हिजो) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहितको बैठकमा ‘भद्र सहमति’ भएको छ ।

‘शीर्ष नेताहरूसँग सहमति भइसकेको छ । हाम्रो पार्टीका नेता भोलि मुख्यमन्त्री बन्नु हुनेछ’, उनले भनिन् । रञ्जिता भोलि आफू पनि सुदूरपश्चिमको धनगढी जाने बताउँछिन् । मुख्यमन्त्री मात्र होइन एक मन्त्री र राज्यमन्त्री समेत पाउने गरी सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भएको उनले जनाइन् । रञ्जिताले आफ्नो पार्टीभित्रका सबै विवाद समाप्त भइसकेको पनि उनले दाबी रेकी छन् । उनले केही दिनअघि संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गरेर कैलाश चौधरीलाई नेता बनाएकी थिइन् । घनश्याम चौधरी नाउपाका नेता रेशम चौधरी (रञ्जिताका पति) पक्षका हुन् ।

घनश्यामले रञ्जिता पक्षधरहरूको टीकापुर बैठकमा भएका निर्णयमा लिखित असहमति जनाएका थिए । यसपछि रञ्जिताले संसद् सचिवालयलाई पत्र पठाएर घनश्यामलाई संसदीय दलको नेताबाट हटाएको जानकारी गराएकी थिइन् । तर नाउपाका रेशम पक्षधरहरूले संसदीय दलको नेता हटाउन संसदीय दलको बैठकले निर्णय गर्नुपर्छ भन्दै तर्क गरिरहेका छन् ।

संसदीय दलमा सुरुमा नाउपाका ७ सांसद थिए । यीमध्ये समानुपातिक सांसद इन्दिरा गिरीलाई पनि रञ्जिताले कारबाही गरिसकेकी छिन् । उनले संसद सचिवालयलाई पत्र पठाएर पार्टीले उनलाई कारबाही गरेको जानकारी गराएकी छन् । अहिले सुदूरपश्चिम सरकारमा नाउपाका ६ जना सांसद छन् तीमध्ये चार जना रेशम पक्षधर मानिन्छन् । नाउपाको संसदीय दलमा रमेश पक्ष बलिया छन् भने पार्टी कार्यसमितिमा रञ्जिताको पल्ला भारी देखिन्छ ।

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै नाउपाका रञ्जिता र रेशमबीचको विवाद बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश सभामा सुरुमा ५३ जना सांसद थिए । तीमध्ये कांग्रेसका एक जना सांसदको निधन भयो । नाउपाकी एक जना कारबाहीमा परिन् । अहिले प्रदेश सभामा ५१ जना सांसद छन् । तीमध्ये सरकारको नेतृत्व गर्न आफूसहित २६ जना सांसद चाहिन्छ । प्रदेश सभामा कांग्रेस १८, माओवादी ११, एमाले १०, नाउपा ६, नेकपा एकीकृत समाजवादी ४, राप्रपा १ र एक जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७