सशस्त्रको जीतसँगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा


३० चैत्र २०८०, शुक्रबार
simara goldcup

बारा । तीव्र हावाका कारण विहीबार स्थगित भएको जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरी (एपिएफ) फुटबल क्लब विजयी भएको छ ।

शुक्रबार विहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लबबीच निर्धारित समयको बाँकी ३२ मिनेटको खेल भएको थियो । खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले विहीबार साँझ ५८ मिनेटपछिको खेल स्थगित गरी शुक्रबार विहान बाँकी खेल गर्ने निर्णय लिएका थिए ।

५८ औं मिनटबाट पुनः सुचारु भएको खेलको ७३ औं मिनेटमा एपिएफका बुद्धिमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए । अनिश महर्जको कटब्याकमा बुद्धिमान राईले पेनाल्टी बक्स बाहिरबाटै सशक्त प्रहार गरेका थिए । बुद्धिमानको प्रहार गोलमा परिणत हुँदा फ्रेण्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै प्रयास गर्न पाएनन् । १–० ले पछि परेको फ्रेण्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपिएफले अग्रता दोब्बर बनायो ।

एपिएफका अनिश महर्जनको प्रहार क्लिएर गर्न खोज्दा अनन्तको खुट्टामा लागेर बल गोलमा परिणत भएको थियो । एपिएफको जीतसँगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ । फाइनल प्रवेशका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसंग शनिबार हुने सेमीफाइनल खेल्नेछ ।

शुक्रबार साँझ मच्छिन्द्र क्लब र सिराहाको सलहेश युवा क्लबका बिचमा पहिलो सेमीफाइनल खेल हुँदैछ । खेलको म्यान अफ दि म्याच एपिएफका बुद्धिमान राई घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफी प्राप्त गरे । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७