सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै दुई सांसदको दाबी पेश


२ बैशाख २०८१, आईतवार
nagarik

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदले दाबी पेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी र कैलाशकुमार चौधरीले प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन् ।

कैलाशकुमारलाई मुख्यमन्त्रीमा नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदले समर्थन गरेका छन् । लक्ष्मणकिशोरलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले समर्थन गरेको पत्र प्रदेशप्रमुख नाजिर मियाँसमक्ष पेश भएको हो । नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठबीचको विवादका कारण सुदूरपश्चिमको मुख्यमन्त्री पदमा पार्टीबाट दोहोरो दाबी पेश भएको हो । मुख्यमन्त्रीमा दाबी पेश गर्नेमध्ये लक्ष्मणकिशोर संरक्षक रेशम पक्षधर सांसद हुन् भने कैलाशकुमार पार्टी अध्यक्ष श्रेष्ठ पक्षधर हुन् ।

अध्यक्ष श्रेष्ठको पक्षमा दुई र संरक्षक चौधरीको पक्षमा चार सांसद देखिएका छन् । सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति सात सांसद रहेकोमा पार्टीको आन्तरिक विवादका कारण एक जना पदमुक्त भइसकेका छन् । प्रदेशप्रमुख मियाँले गत चैत २३ गते १० दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सरकार गठनका लागि आह्वान गरेका थिए । नेपाली कांग्रेसका कमलबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया थालिएको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ६ एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक जना सांसद छन् । दुई पद रिक्त रहेको छ ।

मुख्यमन्त्रीमा दुई जनाको दाबी परेकाले अध्ययनकै क्रममा रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । ‘मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएको छ, हामी अध्ययनकै क्रममा छौं,’ प्रदेश प्रमुख कार्यालयका सचिव शैलेशराज ढुंगानाले भने । प्रदेश प्रमुख नाजिर मियाँले आवश्यक परे सांसदहरूको हस्ताक्षर सनाखत गर्न सकिने संकेत गरेका छन् । एकै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा केही समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७