खेलिरहेका बेला माटोको ढिस्कोले पुर्दा दाङमा दुई बालकको मृत्यु


२ बैशाख २०८१, आईतवार
dhisko
सांकेतिक तस्वीर

दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

आन्द्राभरैयाका चार बालक घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ । आज दिउँसो खेल्न गएकामध्ये तीन जना खाल्डोमा परे पनि एक जना बालकको उद्धार गरिएको थियो । अन्य दुई जना गहिरो खाल्डोमा गएर पुरिएका थिए ।

पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिए । उनीहरुको शव अहिले शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । खाल्डो किन खनिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७