काठमाडौँ–निजगढ द्रुतमार्ग : ६० अर्ब ४४ करोड खर्च, ३३ प्रतिशत मात्रै काम

निर्धारित समयमै द्रुतमाग निर्माण सक्न सरकारलाई निर्देशन


७ बैशाख २०८१, शुक्रबार
Fast Track surung 3 scaled

काठमाडौँ । नेपाली सेनाले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको करिब ३३ प्रतिशत भौतिक प्रगति भएको जानकारी गराएका छ । सिंहदरबारमा आज (शुक्रबार) बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उक्त आयोजनाबारे जानकारी गराउँदै सेनाले काठमाडौँ–निजगढ द्रुतमार्गको काम चैत मसान्तसम्म ३३ प्रतिशत सम्पन्न भएको जनाएको हो ।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले क्त आयोजनामा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ खर्च भएको जानकारी दिएका छन् । उनले द्रुतमार्ग पर्ने टनेलहरूको काम पनि अन्तिम चरणमा पुगेको बताए । शर्माले भने, ‘चन्द्रामभिरको सुरुङका लागि ठेक्का लागिसकेको छ । आयोजनाअन्तर्गत ११ प्याकेजमध्ये १० वटा सम्पन्न भइसकेको छ ।’

rajya bebastha samiti sena
राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल गर्दै । तस्बिर : रत्न श्रेष्ठ / रासस

प्रधानसेनापति शर्माले वन मन्त्रालयको सहजीकरणमा ३० हजारभन्दा रूख काटिएको र समितिको निर्देशनअनुसार रूख कटानमा देखिएको समस्या समाधान भएको बताए । उनले पूर्वदेखि पश्चिसम्मको चार वटा करिडोरमध्ये कर्णाली करिडोरको काम ८८ प्रतिशत सम्पन्न भएको जानकारी दिएका छन् । बेनिघाट, आरुघाट, लार्के भन्ज्याङ करिडोरको प्रगति ७० प्रतिशत भइसकेको उनको भनाइ छ । दार्चुला–टिंकरको काम ६७.२ प्रतिशत सम्पन्न भइसकेको पनि प्रधानसेनपति शर्माले बताए । प्रधानसेनापति शर्माले सेनाले गरिरहेका विकास निर्माण सहज रुपले अघि बढिरहेको भन्दै निर्देशन गर्नुपर्ने गरी कुनै समस्या नभएको बताए ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्र्याक निर्माण गर्न व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको ६ वर्षमा समग्र आयोजनाको प्रगति ३३.२० प्रतिशत पुगेको छ । तर, यही आयोजनाअन्तर्गत निर्माण भइरहेका ६ वटा सुरुङ मार्गको भौतिक प्रगति भने ७६ प्रतिशत छ । अहिले तीनवटा सुरुङको निर्माण जारी छ । सडक मार्गमा सबैभन्दा लामो दूरीको सुरुङ पनि यहीं बन्दै छ । उक्त मार्गमा पर्ने लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किमिका ३ वटा सुरुङ निर्माणाधीन छन् ।

महादेवटारमा ३.३५५ किमिमध्ये २.१३८ किमि सुरुङ खन्ने काम सकिएको छ । त्यस्तै धेद्रे सुरुङमार्गको १.६३० किमिमध्ये १.३९८ किमि सुरुङ खन्ने काम सकिएको छ । १.४३० किमि दूरी रहेको लेनडाँडा सुरुङ १.३५० किमि खनिसकिएको आयोजनाले जनाएको छ । ३ वटा सुरुङको कुल दूरी ६.४१५ किमि रहेकामा अब १.५२९ किमि मात्र खन्न बाँकी छ ।

द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा मन्त्रिपरिषद् निर्णयले ०७४ वैशाखमा सेनालाई दिएको हो । जस अनुसार ०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने हो । उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । यसको सुरु अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ थियो । म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्‍याइएको छ ।

अहिलेसम्म ३१.५७ प्रतिशत खर्च भइसकेको छ । अहिलेसम्म समग्र आयोजनाको प्रगति कम रहेकाले थपिएको समयमा पनि काम सकिनेमा आशंका उब्जिएको छ । पूर्वाधारविज्ञहरूका अनुसार फास्ट ट्र्याक निर्माण भएर सञ्चालनमा आए उक्त मार्गमा दैनिक ५ हजार बढी सवारी साधन गुड्ने छन् । वार्षिक इन्धन बचत १० अर्ब र सवारी मर्मतमा १५ अर्ब रुपैयाँ बचत हुने आकलन गरिएको छ । त्यस्तै दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने पारवहन मार्गका रूपमा विकसित हुने हुँदा यसको छुट्टै रणनीतिक महत्त्व रहेको विज्ञहरूको भनाइ छ । फास्ट ट्र्याक निर्माण भएपछि निजगढबाट १ घण्टा २ मिनेटमा राजधानी आइपुग्न सकिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७