अफ्रिकी किशोरी भन्छन्–नेपाली भाषा र संस्कृति आफ्नो देशमा लैजान्छौँ


८ बैशाख २०८१, शनिबार
african

काठमाडौँ । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगाबाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरिन् । उनको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो । रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरि उनको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो । अफ्रिकासँग नेपालको भाषा या शैली मिल्ने कुरा पनि भएन । तर उनीसँग स्काउटले सिकाएको सिक्ने र सिकाउने बानी छ । तर कसरी गर्ने होला ? यो कुरा उनको दिमागमा खेलिरहेको थियो ।

यही स्वभावका कारण क्रिस्टिनाले सबैभन्दा पहिला नेपाली भाषा सिक्न थालिन् । सुरुमा खानाका परिकार र त्यसपछि सञ्चोबिसञ्चोको खबर आदानप्रदानका केही शब्दबाट सुरु भएको उनको नेपाली भाषा सिकाइ अहिले आफ्नो परिचयसम्म पुगेको छ । अहिले उनी आफ्नो छोटो परिचय नेपाली भाषामै दिन सक्ने भएकी छन् ।

स्काउटमार्फत नेपाल आएकी उनले चार महिनामै नेपाली भाषा र संस्कृति सिकेकी छन् । अहिले त आफ्नो परिचय पनि नेपाली भाषामै दिन्छिन् । भेट हुने नेपालीसँग उनी भन्छिन्, ‘नमस्कार म क्रिस्टिना, अफ्रिकाको रुवान्डाबाट नेपाल आएकी ।’ क्रिस्टिनालाई लाग्छ, कसैसँग आत्मीयता बढाउनु छ भने उसको भाषा र शैली सिक्नुपर्छ । यसले छिटै उनीहरुसँग घुलमिल हुन र अपनत्व बढाउन सजिलो हुन्छ । अफ्रिकाबाट नेपाल आएको चार महिना नपुग्दै उनले नेपाली शब्दकोश समेत बटुल्न थालेकी छन् । यतिबेला नेपाल स्काउटको निम्तोमा अफ्रिकाका विभिन्न देशबाट क्रिस्टिनासहित पाँच किशोरी नेपाल आएका छन् । घाना, मलावी, मदगास्कर, रुवान्डा र युगान्डाका किशोरीले यहाँको संस्कृति र भाषा सिक्ने मात्रै होइन, आफ्नो अनुभव समेत विद्यालयहरुमा पुगेर सुनाउने गरेका छन् ।

उनीसँगैकी रेश्मा सलिम मलावीबाट आएकी छन् । अफ्रिकी मूलकी युवतीको नाम कसरी रेश्मा रहन गयो ? उनीलाई धेरै नेपालीले सोध्ने प्रश्न हो यो । उनको नामसँगै पूर्वीय इतिहास जोडिएको छ । हजुरआमा भारतीय मूलकी भएकाले नातिनीको नाम रेश्मा राखिदिएको उनले सुनाइन् । रेश्मालाई नेपाल मन पर्नुमा छिमेकी मुलुक भारतको निकटता पनि रहेछ । मावली देश भारतकै छेउमा आउँदा नेपालप्रति उनमा आत्मीय भाव छ । ‘म मावली छेउमै छु जस्तो लागेको छ’, उनी थप्छिन्, ‘कोमल हृदय भएका यहाँ धेरै मान्छे रहेछन् ।’ मदागास्करकी फेलाना भने नेपालको प्राकृतिक सौन्र्दयबाट मोहित छिन् । केही सुन्दरता तस्बिरमा कैद गरेकी छन् । घानाबाट आएकी युजेनिया इडोइफ्याड्रोलाई नेपालको एड्भेञ्चरले खुबै तानेको छ रे ।

स्काउटले किशोरीलाई सशक्तीकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नेपाल स्काउटकी युवा कार्यक्रम अधिकृत सरु गोसाईले जानकारी दिइन् । यस ‘गल्र्स मुभमेन्ट’ (एसस) की नेपालको संयोजक समेत रहेकी सरुका अनुसार स्काउटमा दुईवटा विश्व संगठन छन् । एउटा वल्र्ड अर्गनाइजेसन अफ स्काउट द मुभमेन्ट (वजम) र अर्को वल्र्ड एसोसिएसन अफ गर्ल गाइडस् एन्ड गल्र्स स्काउटस (वाग्स) ।

यही वाग्सअन्तर्गत विभिन्न इनिसिएटिभ्स छन्, जसमध्ये ‘यस गल्र्स मुभमेन्ट’ पर्छ । यो युथ एक्सचेन्ज साउथ टु साउथ हो । यो विधामा ‘एक्सचेन्ज प्रोग्राम’ हुन्छ । एउटा ६ महिना र अर्को १० महिनाको हुन्छ, जसमा १३ वटा देश आबद्ध छन् । यसअन्तर्गत नेपाल र बंगलादेश पनि छन् । विभिन्न देशका स्काउट स्वंयसेवकमा आएर एकअर्काको देशमा अनुभव बुटल्ने गर्छन् । यसैअन्र्तगत यसपटक अफ्रिकाबाट पाँच जना किशोरी स्काउट स्वंयसेविकाका रुपमा नेपाल आएका हुन् । उनीहरुले यहाँ बसुञ्जेल यहाँको काम गर्ने तरिका, जीवनशैली, भाषा, गतिविधि र परिवेश अवलोकन गर्नेछन् ।

नेपालबाट पाँच जना किशोरी पाँचवटा फरक देशमा बसेर काम गरिरहेका छन् । नेपालमा सन् २०१८ मा यो कार्यक्रम सुरु भएको हो । सुरुमा तीनजना पठाउने गरिन्थ्यो भने अहिले संख्या बढाएर पाँच पुर्‍याइएको छ । सन् २०२० बाट पठाउने र बोलाउने गर्न थालिएको हो । यसभन्दा अघि बोलाउने मात्रै गरिन्थ्यो ।

सरुका अनुसार सहभागी अफ्रिकाका स्काउट स्वयंसेवक विभिन्न सामुदायिक र निजी स्कुलमा गएर कार्यक्रम सञ्चालन गर्ने, स्काउटमा बस्नुको महत्व बुझाउने, शिक्षासम्बन्धी चेतना जगाउनेलगायत चेतनामूलक कार्यक्रम पनि गर्छन् । यसैअन्तर्गत ‘ग्रिन टेक जेनेरेसन’ अभियान छ । यसमा वातावरणसम्बन्धी जानकारीमूलक क्रियाकलाप हुन्छ । अर्को ‘रेड प्राइड’ मा महिनावारीसँग सम्बन्धित शिक्षा दिइन्छ र सिकाइन्छ । यस वर्ष नयाँ कार्यक्रम थपिएको छ, जुन विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसँग सम्बन्धित छ ।

तुलनात्मक रुपमा यस क्षेत्रमा पुरुषको भन्दा महिलाको उपस्थिति न्यून छ । सहभागिता बढाउन जोड दिने हेतुले यो कार्यक्रम थपिएको हो । साथै ‘एस गल्र्स क्यान क्याम्पेन’ अन्तर्गत मूल नारा ‘एस गल्र्स क्यान से नो टु साइवर बुलिङ’ रहेको छ । पछिल्लो समय अनलाइनमार्फत हुने विभिन्न हिंसाबाट सुरक्षित हुने तरिका सिकाउँदै आएको सरुले बताइन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७