रञ्जितालाई रेशमको अर्को पत्र : मिल्दा मनैले मिलौं, छुटिंदा पनि जग नहँसाई छुटौं

‘हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ ?’


८ बैशाख २०८१, शनिबार
Resham ranjita

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष पत्नी रञ्जिता चौधरी श्रेष्ठलाई सम्झाउँदै फेरि अर्को पत्र लेखेका छन् । यसअघि पनि उनले पार्टी विवादको विषयलाई लिएर पत्र लेखेका थिए । नाउपा संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमार्फत छताछुल्ल पारेका छन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबीच चरम विवाद छ । यस विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं आउन लागेको पत्रमा उल्लेख गरेका छन् । नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रञ्जितालाई अरुले भड्काइरहेको उनको टिप्पणी छ । ‘केही स्वार्थी मान्छेले तिम्रो–मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिध्याउने खेलमा लागेको मैले त बुझेको थिएँ तर तिमीले बुझेनौं । तिमी सोझी र अञ्जान छ्यौ तर मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।

१. माननीय इन्दिरा गिरिलाई कारबाही गर्न उक्साए ।
२. माननीय घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाउन लगाए ।
३. तिमीलाई उकासी उकासी पत्रमाथि पत्र काट्न लगाए ।

‘यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो,’ रेशमले भनेका छन्, ‘यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन् । तर अब रोकिनु हुन्न । संवादको सुरुवात गरे दुवैको मन हल्का होला । नबिर्सनु रञ्जिता, यिनले हामीलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन् । वास्तवमा यिनले हामी दुबैलाई नङग्याई राखेका मात्रै हुन् ।’

उनले अरूको कुरा नसुनेर पार्टी हितमा काम गर्न आग्रह गरेका छन् । ‘तिमीले यत्ति बुझ्नु रञ्जु, हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ ? यो दुवै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो,’ उनले भनेका छन्, ‘तिमीलाई मेरो सुझाव छ रञ्जु, अहिले केहि दिन तीन तत्वबाट टाढा रहनु ।

१) छोरी भन्नेसँग ।
२) भाउजू भन्नेसँग ।
३) भान्जी भन्नेसँग ।

‘यी तीन को खेलबाट बच्नु कल्याण आफै हुन्छ’, रेशमले भनेका छन् । संरक्षक चौधरीले मिल्दा पनि मनैले मिल्न र छुट्टिँदा पनि जग नहँसाई छुट्टिन आग्रह गरेका छन् । ‘जसले तिमीलाई मन्त्री ज्यू भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो । अहिले म काठमाडौंमा केवल तिमीलाई भेट्ने उद्देश्यले मात्रै आउँदैछु । केवल दुई जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ,’ उनले भनेका छन्, ‘मिल्दा पनि मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाई छुट्टिऔँ । हाम्रा सन्तान, इष्टमित्र सबैलाई आहत भएको छ । यसैमा दुवैको भलाई छ र पार्टीको कल्याण पनि ।’

यस्तो छ रेशमको स्टाटस् :
शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरु सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ । यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन । मेरो चरित्र हत्या हुने गरी पोष्टिएका अक्षरको जरुर हिसाब होला ।

प्यारी रञ्जिता, मैले तिमीलाई मुद्दा हालेको होइन, निर्वाचन आयोगलाई हो । अदालतले कारण देखाउ आदेश जारी गर्दा निर्वाचन आयोगको जवाफमा तिमीलाई पनि सोध्ने आदेश गरेको मात्रै हो । तिललाई पहाड बनाउनु हुन्न, समाजमा धेरै जान्ने बुझ्ने मान्छे छन् । केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमीले बुझेनौ ।
तिमी सोझी र अञ्जान छ्यौ तर मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।

१. माननीय इन्दिरा गिरीलाई कार्वाही गर्न उक्साए ।
२. माननीय घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाउन लागाए ।
३. तिमीलाई उकासी उकासी पत्रमाथि पत्र काट्न लगाए ।

यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो । यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन् । तर अब रोकिनुहुन्न । संवादको सुरुवात गरे दुबैको मन हल्का होला । नबिर्सनु रञ्जिता, यिनले हामिलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन् । वास्तवमा यिनले हामी दुबैलाई नङ्ग्याई राखेका मात्रै हुन् ।

सरल तरिकाले बुझ तिमी, मैले निर्वाचन आयोगको फैसला अदालत भन्दा गम्भीर र त्रुटिपूर्ण देखेपछि त्यसको प्रतिवाद मात्रै गरेको हुँ । सबका सामु अध्यक्ष स्वीकारेको छुँ, तिम्रो मानमर्दन गरेको छैन । तिमीले यत्ति बुझ्नु रञ्जु, हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ ? यो दुबै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो ।
तिमीले बुझ्नु, यो चटकेहरुले हिजो म निर्दोष छ भन्दै मेरो गीत बजाएर भोट मागे, आज किन मलाई दोषी करार गरेर जेल हाल्ने षड्यन्त्र गर्दैछन् । मैले त राम्रोसँग बुझेको छुँ रञ्जु, तिमी सिद्धिनु भनेको म सिद्धिनु हो तर तिमीले बुझेकी छ्यौ कि छैनौ, म सिद्धिनु भनेको तिमी पनि सक्किनु हो ?
हाम्रो आन्तरिक भेद बाहिर निकाल्न खोल्नेहरु दुबैका होइनन् । हामी सचेत रहनुपर्छ ।
तिमीलाई मेरो सुझाव छ रञ्जु ,अहिले केहि दिन ३ तत्वबाट टाढा रहनु,
१. छोरी भन्नेसँग ।
२. भाउजू भन्नेसँग ।
३. भान्जी भन्नेसँग
यी ३ को खेलबाट बच्नु कल्याण आफै हुन्छ ।

जसले तिमिलाई मन्त्री ज्यू भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो । अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदैछु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ । मिल्दा पनि मनैले मिलौं, छुट्टिदा पनि जग नहँसाई छुट्टिऔं । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ । यसैमा दुबैको भलाई छ र पार्टीको कल्याण पनि ।
जय नागरिक ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७