डा. केसीको ‘अल्टिमेटम’ सहितको चेतावनी : प्रधानमन्त्रीले राजीनामा नदिए अनसन बस्छु


८ बैशाख २०८१, शनिबार
Govinda kc doctor 001 l34RMbRfVZ
फाइल फोटो

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने माग गरेका छन् । काठमाडौंको माइतीघरमा आज (शनिबार) पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रचण्ड सशस्त्र द्वन्द्वमा भएका जघन्य अपराध घटनाको पीडक भएकाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

मानवताविरोधी घोर अपराध र युद्ध अपराधको अवस्था सिर्जना गर्ने प्रधानमन्त्री प्रचण्डलगायत कतिपय माओवादी नेताहरू र द्वन्द्वकालका सरकारका तर्फबाट अपराधमा संलग्न प्रतिनिधिहरु लगातार शक्ति र सत्तामा रहेर सजायबाट जोगिन लागिरहेका छन् । त्यसैले अहिले नै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर उनलाई युद्ध अपराधमा छानबिन गरेर कारवाहीमा ल्याउनु पर्छ ।’

डा. केसीले भने, ‘हाल सत्ताको नेतृत्व गरेका प्रचण्ड त पदमा रहँदा सधैं भर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ । त्यसैले निष्पक्ष रुपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया नटुङ्गिउञ्जेल पदमा बस्ने उनको कुनै नैतिक तथा कानुनी धरातल छैन । तसर्थ उनले तुरुन्त राजीनामा दिनुपर्छ ।’

यस्तै डा. केसीले तीन हप्ताभित्र नागरिक अधिकार, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय नदिए आफूले पुन सत्याग्रह सुरु गर्ने समेत चेतावनी दिएका छन् । ‘तीन हप्ताभित्र नागरिक अधिकार, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय, कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही तथा सबै नेपालीलाई निःशुल्क उपचारसम्बन्धी हाम्रा माग र यसअघि हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज -प्रतिष्ठान तुरुन्त निर्माण गर्ने, उच्च शिक्षा र प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्ने लगायत सबै सम्झौताहरू कार्यान्वयन नभए सत्याग्रह लगायतका सशक्त दवावमूलक कार्यक्रम शुरु गर्न बाध्य हुने छौं भन्ने कुरा जानकारी गराउँछौं ।’

त्यस्तै नेपालमा लोकतन्त्रको साख बचाउने हो भने केपी ओली, शेरबहादुर देउवा र माधव नेपालले सत्ता र आ–आफ्ना पार्टीहरूमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु दल, देश र जनताको बृहत् हितमा हुने उनको भनाइ छ । उनले रुसले युद्धका लागि लगेका सबै नेपालीहरूलाई फिर्ता बोलाउन र थप जान रोक लगाउने व्यवस्था तत्काल गर्न पनि जोडदार माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७