बाबुराममाथि खनिए गंगानारायण : माओवादी कसरी दुष्मन शक्ति भो ?


८ बैशाख २०८१, शनिबार
ganganarayan

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले माओवादी केन्द्र कसरी दुष्मन शक्ति भयो भनि अध्यक्ष डा. बाबुराम भट्टराईलाई चर्को प्रश्न गरेका छन् ।

आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सहअध्यक्ष श्रेष्ठले गत चुनाव अगाडि नै माओवादी केन्द्रसँग चुनावपछि एकता गरेर जाने सहमति गरेको भए पनि अध्यक्ष भट्टराई एकता गर्ने पक्षमा नउभिएको भन्दै यसले आफूहरूलाई आश्चर्य बनाएको बताए ।

उनले माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेजको आधारमा नेसपाको नजिकको राजनीतिक शक्ति माओवादी केन्द्र नै भएको बताए । उनले विगतमा डा. भट्टराईका लागि माओवादी केन्द्रको सो दस्तावेज क्रान्तिकारी भएको भन्दै आज सोही दस्तावेज अवलम्वन गरिरहेको माओवादी केन्द्र कसरी दुष्मन शक्ति भयो भनी प्रश्न गरे । उनले डा. बाबुराम भट्टराईले राजनीतिक इमानदारिता नदेखाएको पनि बताएका छन् ।

सहअध्यक्ष श्रेष्ठले डा. बाबुराम भट्टराईले नै अग्रगामी शक्तिहरूका बीचमा एकताको कुरा उठाएको भन्दै माओवादी केन्द्रसँगको एकताबाट भाग्न नपाउने बताए । उनले आफूहरूलाई आरोपित गरेर डा. भट्टराई पानीमाथिको ओभानो बन्न नसक्ने बताए । माओवादी केन्द्रसँगको पार्टी एकता ऐतिहासिक आवश्यकता भएको भन्दै उनले पार्टी एकताको विकल्प नभएको बताए ।
सहअध्यक्ष श्रेष्ठले डा. बाबुराम भट्टराई विचलनमा परेको भन्दै विचलनले कुनै निष्कर्षमा पु¥याउन नसक्ने बताए । उनले आफ्नो पक्षमा बहुमत पार्टी सदस्य जुटाएर देखाउन चुनौती समेत दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७