रेशम चौधरीको रञ्जिता र निर्वाचन आयोगविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा


९ बैशाख २०८१, आईतवार
Resham Ranjita

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ । आज पेशी तोकिएको मुद्दा समय अभावका कारण ‘हेर्न नभ्याइने’ मा परेको जनाइएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२औँ नम्बरमा मुद्दा थियो । तर समय अभावका कारण न्यायाधीशद्वयको इजलासमा आठौँ नम्बरको सुनुवाइ सकिएपछि बाँकी मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।
यसअघि अन्तरिम आदेश छलफलको लागि चैत्र ३० गतेको लागि पेशी तोकिएको थियो । तर, उक्त दिन बहस भएको थिएन । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिएको थिएन ।

‘अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जीता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने,’ आयोगको निर्णयमा भनिएको छ । निर्वाचन आयोगले अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७