नेपाल प्रहरीको सीआइबी सुस्तायो


१५ असार २०७५, शुक्रबार
cib

काठमाडौं, १५ असार । वित्तीय अपराध र संगठित अपराध नियन्त्रणमा नेपाल प्रहरीको साख बढाउँदैआएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) पछिल्ला दिनमा सुस्ताएको छ । बैंकिङ कसुर, अन्तर्राष्ट्रिय कल चोरी(भीओआइपीमार्फत् कल बाइपास), गम्भीर प्रकृतिका जघन्य अपराध, मानव बेचबिखन, दुर्लभ वनस्पति र वन्यजन्तुको छालाको तस्करी जस्ता अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्दैआएको सीआइबीको गति विगतमा भन्दा सुस्त देखिएको महसुस सबैले गरेका छन् ।

cib

मानव बेचबिखन र गम्भीर प्रकृतिका अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका पूरा गरेका कारण यसअघि सीआइबीका पूर्व प्रमुख नवराज सिलवाल अन्तर्राष्ट्रिय रुपमै पुरस्कृत भएका थिए । सीआइबीले दुर्लभ वन्यजन्तुको अंगदेखि लागूऔषधका कारोबारी र सुन तस्करीलाई समेत नियन्त्रणमा लिने काम गरेको थियो । सीआइबीले साढे ३३ किलो सुन २ बर्षअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हाताबाट बाहिरिएपछि बरामद गरेको थियो । र, त्यसमा संलग्नता भेटिएपछि एसएसपी श्याम खत्रीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको थियो । तर सुन तस्करहरुले न्यायालयसम्म पहुँच पु¥याई एसएसपी खत्रीलाई छुटाएका थिए । यसअघिका सीआइबी प्रमुख पुस्कर कार्कीले निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका योजनाकार समीरमान बस्नेतलाई पक्राउ गर्नेदेखि कुख्यात डन मनोज पुनलाई इन्काउन्टर गरेका थिए । उनले एपेक्स डेभलपमेन्ट बैंकको १ अर्बभन्दा बढी घोटालामा संलग्न विष्णु धितालहरुलाई पक्राउ गर्ने लगायतका धेरै काम गरेका थिए ।

सीआइबीको प्रमुखका रुपमा राजेन्द्रसिंह भण्डारीले अन्तर्राष्ट्रिय कल चोरी(भीओआईपी) को कारोबारको जालो छिन्नभिन्न पारी नेपाल टेलिकमको अरबौं रुपैयाँ आम्दानी बृद्धि गराएका थिए । भीओआइपीको जालो छिन्नभिन्न पारेपछि नेपाल टेलिकम र एनसेलको आम्दानी बढ्न पुगेको थियो । जसका कारण देशको करसमेत बृद्धि हुन पुगेको थियो । प्रकाश अर्याल, हेमन्त मल्ल ठकुरीले पनि आफ्नो कार्यकालमा सीआइबीमा राम्रा काम गरे । तर सीआइबीमा डीआइजी नारायण खड्का सरुवा भएको अढाइ महिना पुग्न लागिसक्दा पनि उनले प्रभावकारी काम गर्न सकेका छैनन् । खड्का २०७५ बैशाख ४ मा सीआइबीमा सरुवा भएका हुन् । सीआइबीमा कमाण्ड सम्हालेको अढाइ महिनासम्म पनि प्रभावकारी काम गर्न नसकेको आरोपबारे प्रमुख नारायण खड्काको भनाइ यस्तो छ–‘सीआइबी भनेको दैनन्दिन घट्ने सामान्य र साना केस हेर्ने निकाय होइन, यसले संगठित र जटिल प्रकृतिका केसको अनुसन्धानमात्र गर्छ । फाटफुट काम भइरहेका छन् । एकैचोटी देखिने पनि होइन । जटिल प्रकृतिका मुद्दाहरु एकैचोटी आउने पनि होइनन् । आउने कुराहरु अनुसन्धान भइरहेको हुन्छ । निष्कर्षमा पु¥याउने काम भइरहेको छ ।’

पछिल्लो समय भीओआइपी मार्फत् कल बाइपास बढेको कुरा नेपाल टेलिकमको आम्दानी घट्दै गएको घटनाले पुष्टी गरेको छ । इन्टरनेट सेवा प्रदायक संस्था(आइएसपी)हरुले नोक्सानीमा ग्राहकलाई इन्टरनेट सेवा किन दिइरहेका छन् ? यो अहम् प्रश्नमा नेपाल दूरसंचार प्राधिकरण र सीआइबीले छानबिन गर्न किन सकेको छैन । यदि छानबिन गर्ने हो भने सुविसु केवल नेट प्रालि, वल्र्ड लिंक, वेबसर्फर, भायनेट कम्युनिकेसन, एक्पी टेक्निकल, वल्र्डलिंक, नेपाल नेट संचार, एलाइड नेट लिंक टेक्नोलोजी, फाइबर अनलाइन प्रालि, चेरी वल्र्ड कम्युनिकेसन प्रालि, क्लासिक टेक प्रालि, गण्डकी कम्युनिकेसन प्रालि, स्मार्ट टेलिकम प्रालि, सेभेन स्टार नेट प्रालि लगायत ९६ वटा आइएसपीले प्राधिकरणबाट अनुमति लिएका छन् । ९६ वटा आइएसपीको लागि नेपालमा बजार नै छैन । अधिकांश आइएसपीको छानबिन गर्ने हो भने भीओआइपीमा प्रयोग भएको खुलासा हुने नेपाल दूरसंचार प्राधिकरण स्रोतले बताएको छ । स्रोतका अनुसार आइएसपीले सामान्य ग्राहकलाई हाइ पावरको इन्टरनेट सर्भिस दिएको भए त्यसमा छानबिन गरे भीओआइपी भएको खुल्नेछ ।

सीआइबीका डीआइजी खड्काले भने–‘भीओआइपीको बारेमा सीआइबीले अहिले पनि अनुसन्धान गरिरहेको छ । भीओआइपीमा हामी लागिरहेका छौं । केही दिनअघि मात्र भीओआइपीमा संलग्न ६ जनालाई मुद्दा पेश गरी एक जनालाई अदालतले पुर्पक्षमा पठाइसकेको छ । इन्टरनेट प्रदायकहरुको सेवा भीओआइपीमा प्रयोग भइरहेकोबारेमा पनि हामीले टेलिकम र दूरसंचार प्राधिकरणसँग समन्वय गरी अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७