कांग्रेस प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा दाहाल नियुक्त
काठमाडौं, २ साउन । नेपाली कांग्रेसले केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पत्रकार पुरुषोत्तम दाहाललाई नियुक्त गरेको छ ।
पार्टी उपसभापति एवम् केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले कांग्रेसको नियमावली २०६८ को नियम २७९३० बमोजिम दाहाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०६८ को परिच्छेद ४, नियम २७ र २८ बमोजिम गठित केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा नियुक्त दाहाल विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी ३४ वर्षदेखि प्राध्यापनमा संलग्न छन् । दाहालले २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर काम समेत गरेको कांग्रेसले जनाएको छ ।