अस्थिरतामा ब्रह्मलुट मच्चाएर अरबौं कुम्ल्याउनेहरु खुशी छैनन्, छट्पटिए : प्रचण्ड
काठमाडौं, ४ साउन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्थिरतामा रमाउनेहरुले मुलुकमा स्थिरताको वातावरण बिगार्न लागेकाले त्यसको प्रतिवाद गर्दै समृद्धिको यात्रामा लाग्नुपर्ने बताएका छन् । अस्थिरता र अराजकताबाट ब्रह्मलुट मच्चाएर करोडौं, अरबौं कुम्ल्याउनेहरु स्थिर सरकारसँग खुशी नरहेको उनको भनाइ थियो।
नेपाल नेत्रहीन संघको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अस्थिरताको फोहोर फालेर पाँच वर्षीय स्थिर सरकारको लक्ष्यअनुसार समाजवाद उन्मुख समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताए । उनले भने, ‘अस्थिरता र अराजकताबाट ब्रह्मलुट मच्चाएर करोडौं, अरबौं कुम्ल्याउनेहरु स्थिर सरकारसँग खुशी छैनन् । उनीहरु छट्पटिएका छन् । त्यसमा रमाउन पल्केकाहरु स्थिरताको वातावरण बिगार्न लागेका छन् ।’
प्रचण्डले समावेशिता र समानुपातिकताका दृष्टिले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको भन्दै यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले अस्थिरतावादीलाई फोहोर नालीमा बस्ने सुँगुरसँग तुलना गरे ।