त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच


१९ भाद्र २०७५, मंगलवार
tribhuvan university

काठमाडौं, १९ भदाै । ०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा एमए फस्र्ट सेमेस्टर टपरलाई परीक्षा दिन लगाएको प्रमाणसमेत सतर्कता केन्द्रले फेला पार्‍यो । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सतर्कता केन्द्रको छानबिन प्रतिवेदनअनुसार ०७२ चैतकै परीक्षामा गणितकै अर्का शिक्षक रामविश्वास साहले आफ्नै सहोदर छोरी–ज्वाइँ अमरनाथ साहको उत्तरपुस्तिका परीक्षण गरे । त्रिविको कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६८ मा त्रिविका शिक्षक–प्राध्यापक, कर्मचारी वा विश्वविद्यालय र विश्वविद्यालय सेवा आयोगसँग सम्बन्धित कुनै व्यक्तिले नाता पर्ने व्यक्तिका बारेमा निर्णय लिन नहुने व्यवस्था छ । तर, उनले अन्य परीक्षार्थीसँग समेत पास बनाइदिन पैसाको मोलमोलाई गरेको उजुरी परीक्षार्थीले सतर्कता केन्द्रमा दिएका थिए ।

एकै दिन एकै व्यक्तिलाई नियुक्तिपत्र, बढुवा र अवकाश
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २९ कात्तिक ०७३ मा इन्जिनियरिङ संस्थानअन्तर्गतको अर्वन सोसियोलोजीको प्राध्यापकका लागि गरेको विज्ञापनमा पुल्चोक क्याम्पसकी सहप्राध्यापक मथुरा कार्कीको मात्र दरखास्त पर्‍यो । उनी आयोगका पूर्वअध्यक्ष तथा प्रजातान्त्रिक प्राध्यापक संघका पूर्वअध्यक्ष स्व। सौभाग्यजंग कार्कीकी पत्नी हुन् । नियमित प्रक्रिया पुर्‍याउँदा बढुवा हुनुअघि मथुराको सेवा अवधि सकिँदै थियो ।

११ पुसमा उनको सेवा अवधि सकिँदैथ्यो, आयोगले १० पुससम्म फाराम भर्ने म्याद राख्यो । त्यही दिन सूचना निकालेर ११ पुसमा अन्तर्वार्ता गर्‍यो । र, हतारहतार मथुराको नाम सिफारिस गरेर १२ पुसमा कर्मचारी प्रशासन महाशाखामा पत्रचार गर्‍यो । १२ पुसमै नियुक्ति पाएकी उनलाई त्यही दिन प्राध्यापकमा बढुवा गर्‍यो । र, त्यही दिन उमेर हदका कारण अवकाश पाइन् । कार्कीलाई प्राध्यापकमा बढुवा गर्ने आयोगको निर्णयमा कर्मचारीले आपत्ति जनाए । पुनरावेदन आयोगले पनि कार्कीलाई बढुवा गर्ने निर्णय सदर गर्‍यो । यति छिटो, यति हतारमा र यति तदारुकताका साथ यसअघि आयोगले कहिल्यै नतिजा निकालेको थिएन । कार्की राजनीतिक सम्बन्धलाई प्रयोग गरेर प्राध्यापक भई रिटायर्ड हुन सफल भइन् ।

सेवा आयोगका अध्यक्षकी पत्नीको ४४औँ दिन र अरूको एक वर्षपछि नतिजा
आयोगका वर्तमान अध्यक्ष चैतन्यप्रसाद शर्माकी श्रीमती सीता शर्माको बढुवा प्रकरण पनि रोचक छ । उनलाई पुस्तकालयध्यक्ष९विशिष्ट० पदमा बढुवा गर्न आयोगले हतारहतारमा विनियम बनाई ०७३ फागुनमा अन्य केही कर्मचारीको समेत विज्ञापन गर्‍यो । विज्ञापन गरेको ४४औँ दिनमा शर्माको नाम निकालियो । शर्मा नियुक्तिपत्र बुझेको केही दिनमा नै सेवानिवृत्त भइन् । तर, सोही विज्ञापनका बाँकीको भने एक वर्षपछि ०७४ फागुनमा मात्र नतिजा प्रकाशन गरियो । शर्माको बढुवाको भित्री कारण पनि उनको सेवा अवधि नै थियो । शर्मा दुई महिनापछि सेवानिवृत्त हुँदै थिइन्, आयोगले ४४औँ दिनमा शर्माको मात्र नतिजा निकालेर अवकाशअघि एक तह बढुवा गरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७