एसपी नहुँदा तस्करी शुरु, एसपी नहुँदा क-कसले हान्दैछ ‘मौकामा चौका ?’


४ जेष्ठ २०७५, शुक्रबार

सर्लाही, ४ जेठ । अख्तियारमा कार्यरत एसपी हृदय थापाले सरुवा हुँदा जिप्रका चितवन र कास्की मागे । यसका लागि उनले अख्तियारका निमित्त प्रमुख आयुक्त नवीन घिमिरेमार्फत आइजीपी सर्वेन्द्र खनाललाई दबाब दिए । nepal police

तर, घिमिरेले भने जसो गरी खनालले थापाको सरुवा चितवन र कास्की गराउन सकेनन् । कास्की र चितवनका प्रहरी प्रमुख ओम राना र सुशीलसिंह राठौर दुवै जना माओवादीको कोटाबाट सरुवा भएका कारण हृदय थापाको सरुवा सर्लाही हुन पुग्यो । हृदय थापा सर्लाही जान चाहेका छैनन् । स्रोतका अनुसार संगठन प्रमुखसँग रुष्ट बनी उनी आफू सर्लाही नजाने र आफूले अख्तियारमा फाइलहरू हेरिरहेका कारण असम्भव रहेको बताएपछि मुख्यालयले सर्लाहीमा नयाँ एसपी पठाएको छैन ।

जसका कारण यतिबेला सर्लाहीको प्रहरी प्रमुखमा डिएसपी राजेश थापा कार्यरत छन् । एसपी नभएको मौका छोपी अहिले सर्लाहीको त्रिभुवन नगर, गडैया डुम्रिया र भारसर फुटौनाबाट रातको समयमा ठूलो मात्रामा तस्करी हुँदै आइरहेको छ । डिएसपी थापाको संरक्षण र निर्देशनमा यी नाकाबाट खुलेआम तस्करी भइरहेको छ । तस्करसँग लाइन चलाई दिए वापत रकम असुल्ने काम हालै त्रिभुवन नगर लगिएका असई मनोज मिश्र र घुमुवा हवल्दार सञ्जय पासवानले गर्दै आएका छन् । जिप्रकाका एक प्रहरी निरीक्षकका अनुसार तस्करी गराउनकै लागि असई मनोज मिश्रलाई भारसर फुटौनाबाट त्रिभुवन नगर लगिएको छ ।

केही महिनाअघि मात्रै दर्जनौँ उजुरी परी बदनामी कमाएका, तस्करीसँग सेटिङ गरी तस्करी चलाएको भनी संघीय प्रहरी एकाई कार्यालय जनकपुरमा तानिएका हवल्दार पासवानलाई पुनः सर्लाहीमा ल्याई घुमुवा राखी तस्करहरूसँग रकम उठाउने काममा लगाइएको छ । यो काम निमित्त जिल्ला प्रमुख बनेका डिएसपी राजेश थापाले गर्दै आएका छन् । अहिले एसपी नभएको मौका छोपी यी तीन वटा नाकाबाट तस्करीको लाइन पाउनेहरूमा विजय राय यादव, विजय यादव, रमेश यादव, प्रकाश यादव, अन्तोष दास, सन्तोष र गोपाल रहेका छन् ।

उनीहरूले असई मनोज मिश्र र हवल्दार सञ्जय पासवानमार्फत् निमित्त प्रमुख रहेका डिएसपी राजेश थापालाई मिलाएर तस्करीको लाइन चलाइरहेका छन् । आइजीपी सर्वेन्द्र खनालले संगठनको नीति र निर्देशन विपरीत जाने जोसुकै प्रहरीलाई पनि कार्वाही गर्ने निर्देशन दिइरहँदा पनि सर्लाहीमा अहिले खुलेआम तस्करी चलिरहेको छ ।

असई मनोज मिश्र र हवल्दार सञ्जय पासवानले आइजिपीको सचिवालयबाट खटिएका घुमुवाको टोली प्रमुख सई किसनदेव साहलाई समेत मिलाएका कारण तस्करीले केन्द्रीय संरक्षण पाएको यहाँका अन्य व्यापारीहरू बताउँछन् ।
उद्योग वाणिज्य संघका एक सदस्यका अनुसार आइजीको सचिवालयबाट सई किसनदेव साहको कमाण्डमा ८ जनाको घुमुवा टोली खटिएको छ । यो टोलीले तराईका नाकाहरूबाट तस्करी गर्ने तस्करहरूसँग बारम्बार सम्पर्क गरिरहेको समेत उद्योग वाणिज्य संघका ती सदस्यले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७