असारे विकासको विकृति, घुस लिंदालिंदै पक्राउ पर्ने क्रम बढ्यो


२८ असार २०७५, बिहीबार
ciaa

काठमाडौं, २८ असार । नेपालमा विकास निर्माणको बजेट आर्थिक बर्षको अन्तिममा खर्च हुने गरेको छ । र, यसलाई असारे विकास भन्ने गरिएको छ । असार सुरु भएपछि अन्तिमसम्म कागजमा काम गरेको देखाएर धमाधम भुक्तानी हुने गरेको छ । असारे विकास भनेको कागजमा काम देखाउने र भुक्तानी लिनेमात्र हो ।

ciaa

यसरी लिएको भुक्तानीबाट कर्मचारीहरुले घुस लिने क्रम पनि बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिक २ देखि ३ वटासम्म घुस लिएका घटनामा स्टीङ अप्रेसन गरी पक्राउ गरेको तथ्यांक छ । असारको २२ देखि २८ गतेसम्म अख्तियारले लगातार घुस लिंदालिंदै पक्राउ गरेकाहरुमा अधिकांश विकास निर्माणसँग सम्बन्धित कार्यालयका कर्मचारी बढी छन् ।

असारको विकासँगसँगै घुस लेनदेन पनि यही मौकामा बढेको छ । बुधबारमात्र राष्ट्रिय पुनर्निमाण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालय, नुवाकोटका सवइन्जिनियर लोकबहादुर थापाले बिद्यालय भवन निर्माण कार्य सम्पन्न भएपश्चात रनिङ विल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँँ घुस सामाखुसीको रातो भाले फाष्टफुड रेष्टुरेन्टबाट पक्राउ परेका थिए ।

बिहीबार पुनः बाराको फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार साह ३० हजार रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका छन् । एच.आई.भी. सम्बन्धी जनचेतना कार्यक्रमको लागि खर्च भएको रकम भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिंदालिंदै उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

त्यसैगरी मंगलबार जिल्ला वन कार्यालय ,रुकुम (पश्चिम) का सहायक वन अधिकृत रोहितकुमार शाह र ग्रामीण वित्त सहायक सन्दीप अधिकारी कबुलियति वनको काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग रु. २३ हजार घुसवापतको रकम लिएको अवस्थामा पक्राउ परेका थिए ।
मंगलबार नै डुडुवा गाँउ कार्यपालिकाका बाँकेका इन्जिनियर तेजराज खड्का माटो पटान तथा ग्राबेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख घुस लिंदा घुस लिंदालिदै पक्राउ परेका थिए ।
बाँकेकै बैजनाथ गाउँपालिकाको कार्यालय, बनकटवा, इन्जिनियर माजिद २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।
सोमबारै जिल्ला प्राविधिक कार्यालय, जाजरकोटका इन्जिनियर अन्जयकुमार देव सिंचाई आयोजनाको कार्य सम्पन्न प्रतिवेदन बनाउने प्रयोजनको लागि ८० हजार घुस लिंदालिंदै कार्यकक्षबाटै पक्राउ परेका थिए ।
आइतबार दोलखा, कालिन्चोक गाउँपालिका, ९ नं. वडा कार्यालयका सबइन्जिनियर रामनरेश यादव भूकम्प पीडितले प्राप्त गर्नुपर्ने दोस्रो किस्तावापतको रकमको सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ९ हजार घुस रकमसहित समातिए ।
आइतबारै जिल्ला प्राविधिक कार्यालय गौर रौतहटका इन्जिनियर अजयकुमार ठाकुर विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपश्चात अन्तिम भुक्तानीको लागि बिल कागजात तयार पार्ने प्रयोजनको लागि सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका थिए ।
२०७५ असार २२ मा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेल, काभ्रेमा कार्यरत इन्जिनियर शेखरनाथ खनालले खानेपानी तथा सरसफाई सम्बन्धी कामको पहिलो किस्ताको काम सम्पन्न भई बिल भुक्तानीका लागि पेश गर्दा सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीलेउनलाई रु.१ लाख ३० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७