मेरो ‘नोट अफ डिसेन्ट’ हड्ताल गरेर विरामी बिचल्ली पार्ने अपराध विरुद्ध हो : डा. श्रेष्ठ


२ श्रावण २०७५, बुधबार
Rakshya Shrestha

काठमाडौं, २ साउन :  आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य संस्था वन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय विरुद्ध संघकै पदाधिकारी उत्रिएका छन् । अनशनरत डा. गोविन्द केसी मागलाई समर्थन गर्दै संघले स्वास्थ्य संस्था वन्द गर्ने निर्णय गरेपछि ‘स्वास्थ्य संस्था वन्द’को निर्णय बिरुद्ध संघकी कोषाध्यक्ष डा. रक्षा श्रेष्ठ ‘मेरो ‘नोट अफ डिसेन्ट’ लेखेकी हुन् ।

Rakshya Shrestha
कोषाध्यक्ष डा. रक्षा श्रेष्ठ

संघले भोलिदेखि देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । संघको बुधबार बसेको कार्यकारी समितिको आकस्मिक बैठकमा स्वास्थ्य संस्था बन्द गर्दा विरामीको बिचल्ली हुने भन्दै संघकी कोषाध्यक्ष डा. श्रेष्ठले निर्णयमा आफू असहमत रहेको बताएकी हुन् । डा. श्रेष्ठले आफ्नो असहमति भएको उल्लेख गर्दै नोट अफ डिसेन्ट लेखेकी हुन् ।  नोट अफ डिसेन्टमा उनले लेखेकी छिन् ‘हामी चिकित्सक प्रत्यक्ष बिरामीको जीवनसँग सरोकार राख्ने हुनाले बन्द हडतालमा असहमति जनाउँछु।’

कोषाध्यक्ष डा. श्रेष्ठले डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने कुरामा आफू सहमत रहेको तर स्वास्थ्य संस्था जस्तो जनताको जीवन जोडिएको क्षेत्रमा हड्ताल गर्नु उचित नहुने नयाँ पेजलाई बताइन् । उनले भनिन्, ‘डा.केसीको जीवन रक्षाको लागि त हामी सबै नै लागिरहेका छौं, लडिरहेका छौं तर उहाँको नाममा हजारौं बिरामीहरुको बिचल्ली पार्ने काम सही होइन । डा. केसी पनि स्वास्थ्य संस्था बन्द गर्ने कार्यमा सहमत हुनुहुन्न जस्तो लाग्छ ।’ डा. श्रेष्ठले अस्पताल जस्तो संवदेनशिल क्षेत्रमा बन्द हड्ताल गरेर बिरामी बिचल्ली पार्नु अपराध भएको बताइन् । उनले भनिन्,‘मलाई लाग्छ डा.केसी पनि बन्द हड्तालको पक्षमा हुनुहुन्न । हामीले हड्ताल गरेर देशभरका हजारौं बिरामीलाई बिचल्ली पार्ने अपराध गर्नु हुदैन ।’

 

संसदमा दर्ता गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ फिर्ता लिई पुरानै चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन अनुरुपको विधेयक ल्याइनु पर्ने माग राख्दै डा. केसी १९ दिनदेखि जुम्लामा अनशनरत छन् ।  मन्त्रिपरिषद्ले सोमबारै शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको छ ।

केसीका तर्फबाट वरिष्ठ अधिवक्ता भण्डारी, अधिवक्ता ओम प्रकाश अर्याल र डाक्टर अभिषेकराज सिंह वार्तामा सहभागी छन् । डाक्टर केसीका प्रतिनिधि र सरकारबीच सोमबार र मंगलबार वार्ता भएता पनि डा.केसीको नयाँ अडानले वार्ता बिना निष्कर्ष टुंगिएको छ । डाक्टर केसीले तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहित वार्ता टोली नपठाएसम्म अर्को चरणको वार्ता नगर्ने बताएका छन् ।

डा. श्रेष्ठकाे ‘नोट अफ डिसेन्ट’ :-

37346229 1900836866644003 6900981506492071936 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७