माधव नेपालले फेरि दिए सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी

‘कांग्रेसलाई शत्रु घोषणा गरे हामी सक्किन्छौं’


१४ बैशाख २०८१, शुक्रबार
madhav nepal1692689089
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसके जस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रस्ट रूपमा हामीले भन्न सकौँ । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो । देशलाई अघि बढाउनका लागि हो । त्यसैले हामीले सुशासनको कुरालाई उच्चतम प्राथमिकता दिन्छौँ ।’

उनले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताए । अध्यक्ष नेपालले देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरूको विकास, सीप सिकाउने, उद्यमशिलतालाई प्रोत्साहन दिन काम गर्नुपर्ने बताए । अध्यक्ष नेपालले सरकारलाई दम्भ नदेखाउन चेतावनी पनि दिए ।

अध्यक्ष नेपालले कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जानु पार्टीलाई समाप्त पार्ने खेल रहेको टिप्पणी गरेका छन् । युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै कसैको बहुमत नआएकाले अहिले संसदमा उपस्थित सबै दलको भूमिका समान रहेको बताए ।

उनले भने, ‘यो चुनावमा कसैको बहुमत आएन, अहिलेको संसदमा १२ वटा पार्टी छन् । त्यसमध्ये ६ वटा सरकारमा छन् । एउटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट भुइँमै पछारिन्छ । त्यसैले कोही पनि घमण्डी नहोस् । दम्भ नदेखाऔं, झण्डै दुर्घटना होला कि भन्ने अवस्था सुदूरपश्चिमको मुख्यमन्त्रीको सिलसिलामा आइसकेको थियो । तर, प्रधानमन्त्रीले लचकता देखाउनु भयो । अहिले हाम्रो पार्टीको मुख्यमन्त्री हुनुहुन्छ । अहिले विभिन्न प्रदेशमा हामीलाई स्थान दिइएको छ । कसैले कांग्रेसलाई शत्रु बनाउनु पर्छ भन्छन् जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन् । त्यो पार्टीलाई खत्तम पार्ने सिद्धान्त मात्रै हो । उनले एमालेलाई लक्षित गर्दै अहिले आफूहरुले गरेको गठबन्धन भएपनि कसैलाई त्यो शब्द प्रयोग गर्न अफ्ठ्यारो परेको टिप्पणी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७