उपनिर्वाचनको दिन सार्वजनिक सवारी चलाउन पाइने


१४ बैशाख २०८१, शुक्रबार
nirbachan aayog

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका दिनमा पनि सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि (वैशाख १५) उपनिर्वाचन हुँदैछ ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेका अनुसार यसअघिनै गृह मन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरूलाई सार्वजनिक सवारी साधन चलाउने निर्देशन दिइएको थियो । यसअघिका निर्वाचनमा भने अत्यावश्यक सेवा र पास जारी भएका सवारी मात्रै निर्वाचन हुने दिन सञ्चालन गर्न दिइन्थ्यो ।

तर, उपनिर्वाचनमा भने मतदाताको सहज आवागमनका लागि सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक सवारी चलाउन दिइने निर्णय भएको पाण्डेले बताएका छन् । ‘सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउन निर्देशन दिइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिमध्ये एक जनाले चार पांग्रे, तीन पांग्रे वा दुई पांग्रेमध्ये कुनै एउटा सवारी साधन मात्रै अनुमति लिएर प्रयोग गर्न पाइने आयोगले जनाएको छ । सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्ग सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७