गृहमन्त्रीको ठाडो निर्देशनमा सशस्त्रको बढुवा शुरु, यी एसएसपी बन्दैछन् डिआइजी


२८ आश्विन २०७५, आईतवार

काठमाडौं, २८ असोज । झण्डै नौ महिनादेखि रोकिएको सशस्त्र प्रहरीको डिआइजी बढुवा प्रक्रिया अगाडि बढेको छ ।

Armed Police Force 1

गृह मन्त्री रामबहादुर थापा ‘बादल’ को ठाडो निर्देशनमा डिआइजीको बढुवा प्रक्रिया अघि बढेको समाचार स्रोतले जानकारी दिएको छ । यसअघि गृहमन्त्री थापाले यसअघि पनि बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिंदै आएको भए पनि बढुवाको प्रक्रिया अघि बढाउन आलटाल भइरहेको थियो ।

बढुवा प्रक्रिया अघि बढेपछि सशस्त्र मुख्यालयले एसएसपीसँग शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक प्रमाणपत्र बुझाउन सर्कुलर जारी गरेको छ ।

सशस्त्रमा गत माघदेखि सात डीआईजी पद रिक्त छन् । बढुवाका उम्मेद्वारले पटक–पटक बढुवा प्रक्रिया अघि बढाउन आग्रह गरे पनि सुनुवाइ भएको थिएन ।

सशस्त्र मुख्यालयद्वारा जारी सर्कुलरमा एसएसपीहरूलाई बढुवा प्रयोजनार्थ आवश्यक कागजात सूचना प्रकाशन भएको १० दिनभित्र बढुवा समितिमा पेस गर्न भनिएको छ । मुख्यालयले गत शुक्रबार सूचना प्रकाशित गरेको थियो ।

रिक्त सात डीआईजी पदमा बढुवाका लागि सशस्त्रका ११ एसएसपी तीव्र लबिङमा छन् । प्रजा भक्त, सञ्जय राणा, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, गोविन्द क्षत्री, सीपी गौतम, हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रह्माचार्य र राजेन्द्र बस्नेत डीआईजीमा बढुवाका आकांक्षी हुन् ।

एसएसपीहरू भक्त, राणा, अर्याल, पौडेल र श्रेष्ठद्वय २०७० जेठ २ गते एसएसपीमा बढुवा भएका हुन् । गौतम र क्षत्री ०७० साउन २ गते बढुवा भएका थिए । त्यसैगरी एसएसपीहरू बुढाथोकी, ब्रह्माचार्य र बस्नेत ०७१ पुष २१ गते बढुवा भएका थिए ।

डीआईजी बढुवाका लागि गृहसचिव प्रेम राईको अध्यक्षतामा तीन सदस्यीय समिति बनेको छ । जसको सदस्यमा आईजीपी खनाल छन् भने प्रशासनमा एआईजी नारायणबाबु थापा सदस्य सचिव छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७